नेशनल हाइड्रोको नाफा १ करोड ४० लाख |
काठमाडौं । नेशनल हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो आम्दानी कम्पनीको दोस्रो त्रैमासको मात्र हो । उक्त खुद नाफालाई कम्पनीले ऋणात्मक जगेडामा समायोजन गरी घटाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ७ लाख २८ हजार रुपैंया खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको पुस मसान्तमा कम्पनी ९७ लाख २१ हजार रुपैयाँ नोक्सानीमा थियो ।
कम्पनीले यस अवधिमा विद्युत विक्रीबाट ५ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा १४ लाख भन्दा बढीले विद्युत विक्रीवाट हुने आम्दानी घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत विक्रीबाट कम्पनीले ५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
१ वर्षको समीक्षा अवधिमा कम्पनीको प्रत्यक्ष खर्चको आकार बढेको छ भने प्रशासनिक खर्चको आकार घटेको छ । गत आर्थिक वर्षमा ट्याक्स पेड अगेन्स डिमाण्ड शिर्षकमा २ करोड ५८ लाख ५५ हजार रुपैंया खर्चिएका कारण नोक्सानमा रहेको कम्पनीले यस आर्थिक वर्षको दोस्रो त्रैमासमा त्यस्तो शिर्षकको खर्च देखाएको छैन । जसका कारण कम्पनी नाफामा गएको देखिएको हो ।
१ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ४१ करोड ४९ लाख रुपैयाँले ऋणात्मक छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको जगेडा कोष ४२ करोड ८९ लाख रुपैंयाले ऋणत्मक थियो ।
वित्तीय विबरणमा कम्पनीले प्रति शेयर आम्दानी ४ रुपैयाँ ०४ पैसा, प्रति शेयर नेटवर्थ ७० रुपैयाँ ०६ पैसा र मुल्य आम्दानी अनुपात १७.५६ गुणा बढी रहेको देखाएको छ ।