कुलमानको फड्को ː विद्युत चुहावट १० प्रतिशत घट्यो, ७ अर्ब रुपैयाँ जोगियो |
काठमाडौं । चालु आर्थिक वर्ष २०७५⁄ ७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७४⁄७५ मा प्रणालीमा औसत २०.४५ प्रतिशत रहेको विद्युत चुहावटलाई चालु आवको ५ महिनामै १५.४५ मा झार्न प्राधिकरण सफल भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष वर्षमान पुनले विद्युत चुहावट घटाउने, संस्थाभित्रको आर्थिक तथा प्रशासनिक वेतिथी नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवा प्रवाहलाई सुधार गर्ने लगायतका निर्देशन प्राधिकरण व्यवस्थापनलाई दिएका छन् ।
प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्ब रुपैयाँ थप आम्दानी गर्ने प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।
चालु आवमा विद्युत चुहावट १८.५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको छ ।
प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।