टेलिकम १५औं वर्षमा प्रवेश, नौवटा आकर्षक अफर सार्वजनिक |
काठमाडौं । नेपाल टेलिकमले मंगलवार १५औं वार्षिकोत्सव मनाएको छ । यसै सन्दर्भमा कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकमलाई नाफा हुने क्षेत्रमा मात्र नभई जनता भएको जुनसुकै क्षेत्रमा पनि सेवा उपलब्ध गराइ रहेको बताए । यसलाई संस्कृति सहितको कर्पोरेट संस्थाको रुपमा विकास गर्नुपर्ने उनले बताए ।
कम्पनीले व्यवस्थित बजार नीतिका आधारमा आगामी दिनमा प्रतिस्पर्धा, नाफा, सेवा र सुरक्षामा केन्द्रित रही देशको अर्थतन्त्रमा योगदान पुर्याउनका लागि भूमिका खेल्नुपर्ने मन्त्री बास्ककोटाले बताए ।
नेपाल टेलिकमको सञ्चालक समितिका अध्यक्ष एवमं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले कम्पनीका केही महत्वपूर्ण आयोजनाहरु शुरु हुने क्रममा रहेका र केही आयोजना नयाँ चरणमा प्रवेश गर्ने क्रममा रहेकाले अवसरलाई सदुपयोग गरी अगाडि बढेमा कम्पनीको भविष्य उज्वल रहेको बताए । उनको आयोजनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरी सबै पक्ष अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले कम्पनीको भविष्य र प्रगति यसको आम्दानीसँग जोडिएको बताउँदै कम्पनीलाई बजार हिस्सा बढाउने कार्यमा बढी ध्यान दिन आग्रह गरे । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले व्यावसायिक दक्षता, बजार विस्तार, राजस्व वृद्धि र उच्च कार्यदक्षतासहित कम्पनीलाई निरन्तर अग्रणी स्थानमा राख्नका लागि प्राथमिकता दिने बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तरराष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गरेका थिए । हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र उपलब्ध अन्तरराष्ट्रिय रोमिङ सेवा अब प्रिपेड मोबाइलमा समेत प्रयोग गर्न सकिने छ ।
नौवटा अफर सार्वजनिक
नेपाल टेलिकमले १५औं वर्ष पूरा गरेको अवसरमा ग्राहकलाई नौवटा आकर्षक अफर ल्याएको छ । अब टेलिकमका ग्राहकले एक महिना ʽमाघ २२ गते देखि फागुन २२ गतेʼ सम्म मोवाइल एप डाउनलोड र रजिष्ट्रेशन गर्दा एक सय एमबी डाटा प्राप्त गर्न सक्नेछन् ।
जीएसएम पोस्टपेड ग्राहकले नौ सय रुपैयाँको प्याकेजमा दुई जीबी अल टाइम डाटा, पाँच सय रुपैयाँको फ्री रिसोर्स प्राप्त गर्न सक्नेछन् । माघ २३ गतेदेखि फागून आठ गतेसम्म नयाँ जीएसए पोष्टपेड खरिदकर्ताले तीन महीनासम्म एक जीबीको अल टाइम डाटा एकसय मिनेटको भ्वाइसकलको सुविधा पाउन सक्नेछन् ।
टुरिस्ट प्याकेज अन्तर्गत ग्हकले पाँच सय रुपैयाँ र एक हजार रुपैयाँको प्याकेज लिन सक्ने टेलिकमले बताएको छ । पाँच सय रुपैयाँको प्याकेज अन्तर्गत ग्राहकले पाँच जीबी डाटा, ५० मीनेटको भ्वाइसकल, ५० एसएमएस र एक सय रुपैयाँको अन्तरराष्ट्रिय कल गर्न सक्नेछन् । यसैगरी ग्राहकले एक हजार रुपैयाँमा १० जीबी डाटा एक सय मीनेटको भ्वाइस, एक सय एसएमएस र दुई सय रुपैयाँको अन्तरराष्ट्रिय कल सेवा लिन सक्ने टेलिकमले बताएको छ ।
टेलिकमले चीनमा कल गर्नका लागि दैनिक, साप्ताहिक र मासिक योजना ल्याएको छ । माघ २२ देखि ९० दिनसम्मको लागि सिमीत योजनामा ग्राहकले ३५ रुपैयाँ देखिपाँच सय रुपैयाँसम्मको प्याकेज लिन सक्ने टेलिकमले बताएको छ ।
टेलिकमले २०७४ असार मसान्तसम्म बक्यौता नबुझाएका ग्राहकलाई २०७६ असार मसान्तसम्म पुरै बक्यौता बुझाए जरिवाना नगर्ने योजन निकालेको छ । टेलिकमका अनुसार एक वर्षदेखि एडीएसएल सेवा लिँदै आएका ग्राहकले तीन महीना अवधिमा एफटीटीएच माइग्रेसन योजना अन्तर्गत एफटीटीएच सिपीइ निːशुल्क पाउन सक्नेछन् ।
टेलिकमले नेत्रहीन संघको सिफारिसमा नेत्रविहीनले प्रयोग गर्दै आएको सीडीएमए र जीएसएममा अल टाइम डाटा प्याकेज खरदिमा शतप्रतिशत बोनस पाउनका साथै दुई सय रुपैयाँको अल टाइम डाटा खरिदमा ५० प्रतिशत बोनस पाउन सक्नेछन् ।
मोवाइल पोइन्ट्स अफ सेलको माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज र भुक्तानी गर्दा ग्राहकले पाँच प्रतिशत बोनस रकम प्राप्त गर्ने सक्नेछन् । टेलिकमका अनुसार यो योजना छ महिनासम्म लागू हुनेछ ।