उपत्यकाबाहिर शाखा खोल्न आठ ब्रोकर कम्पनीले मात्र पाए अनुमति |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले उपत्यका बाहिर शाखा कार्यालय स्थापना गरी कारोबार गर्नका लागि आठवटा ब्रोकर कम्पनीलाई प्रारम्भिक अनुमति दिएको छ । बोर्डले चालू आवको असारभन्दा अगाडि शाखा खोल्न निवेदन दिएका ब्रोकर कम्पनीलाई अनुमति प्रदान गरेको हो ।
बोर्डले यस पटक कुन कुन ब्रोकर कम्पनीलाई शाखा विस्तारका लागि अनुमति दियो भन्नेबारे भने खुलाएको छैन । बोर्डले यसअघि शाखा नपुगेका तथा आर्थिक रूपमा सक्रियताका आधारमा सम्भाव्य जिल्लाहरू महेन्द्रनगर (कञ्चनपुर), वीरेन्द्रनगर (सुर्खेत), घोराही, तुलसीपुर (दाङ), भैरहवा (रुपन्देही) र जनकपुर (धनुषा) मा शाखा कार्यालय खोल्ने गरी आवश्यक पूर्वाधार तयार पार्न निर्देशन दिएको थियो ।
हालसम्म मोफसलमा ब्रोकर कम्पनीहरूले १३ जिल्लाका ४१ स्थानमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याइसकेका छन् । चालू आवको असारदेखि यताका शाखा कार्यालय खोल्नका लागि निवेदन दिएका ब्रोकर कम्पनीहरूका लागि भने हाल संशोधनको प्रक्रियामा रहेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ तयार नहुञ्जेलका लागि रोकिने भएको छ । उक्त नियममा भएका व्यवस्थाका आधारमा बाँकीलाई अनुमति प्रदान गर्ने बोर्डले जानकारी दिएको छ ।
शाखा विस्तारको अनुमतिका लागि गत असारभन्दा अगाडि इम्पेरियल सेक्युरिटजले कर्णाली प्रदेशका लागि, कालिका सेक्युरिटिजले दाङको तुलसीपुरका लागि, सुमेरु सेक्युरिटिजले जनकपुरका लागि, भिजन सेक्युरिटिजले दाङको घोराही र भैरहवाका लागि, आर्यतारा सेक्युरिटिजले भैरहवा र दाङका लागि, डाइनामिक मनी म्यानेजर सेक्युरिटिजले पोखराका लागि, प्रिमियर सेक्युरिटिजले भरतपुरको चितवनका लागि, नासा सेक्युरिटिजले एकैपटक जनकपुर, दमक र पोखराका लागि, श्रीहरि सेक्युरिटिजले विराटनगर, दमक, वीरगञ्ज र बुटवलका लागि बोर्डमा निवेदन दिएका थिए ।