सीएमसी करीयर क्विजको अडिसन शुरु, हेरौं कुन शहरको पालो कहिले |

सीएमसी करीयर क्विजको ९ औ संस्करणकको अडिसन माघको तेस्रो सातादेखि पोखराबाट शुरु भएको छ । अडिसनको मिति पोखराका लागि माघ २० गते, बुटवलमा माघ २२ गते, चितवनमा माघ २४ गते, बिराटनगरमा माघ २७ गते र अन्तिम अडिसन काठमाण्डौमा फागुन २ गतेका लागि तोकिएको आयोजक सस्था मिटिङ्ग प्वाइन्ट प्रालिले जानकारी दिएको छ । अडिसनका लागि तोकिएको स्थानमा लिखित र मौखिक परिक्षामार्फत क्वालिफाइङ राउण्ड खेल्ने टिमको छनोट गरिने छ । राजधानी र राजधानी बाहिरका प्रतिस्पर्धी मध्ये कम्तिमा ५० टिमलाई छनोट गरिने आयोजकले बताएका छन् ।

क्विज प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थी तथा विद्यालयले तोकिएको मिति र स्थानमा आफ्नो टिमको नाम दर्ता गर्नुपर्ने छ । सीएमसी करिअर क्विजको फेसबुक पेज www.facebook.com/cmccareerquiz तथा मिटिङ्ग प्वाइन्टको आधिकारिक वेबसाइट www.meetingpoint.com.np मार्फत पनि क्विजमा सहभागिताका लागि थप जानकारी पाउन सकिन्छ । दुवै ठेगानामा सहभागिताको फारम उपलब्ध हुनेछ भने एउटा शैक्षिक संस्थाबाट एक टिममा २ जना हुने गरी बढिमा २ टिम सम्मले अडिसनमा सहभागिता जनाउन सक्ने क्विजका प्रमुख कार्यकारी निर्माता सुरेश सिम्खडाले बताए ।
पोखरामा सम्पन्न अडिसनबाट ३ वटा टिमले क्वालिफाइङ राउण्ड खेल्नका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन् भने तोकिएको वाँकी स्थानहरुमा अडिसन हुने आयोजकले जानकारी दिएका छन् ।

सन् २०१० देखि औपचारिक रुपमा शुरु भएको करिअर क्विजको यो ९ औ संस्करण हो । देशका प्रतिष्ठित व्यक्तित्वहरुले सञ्चालन गर्ने प्रतियोगितात्मक कार्यक्रम करिअर क्विजका बिजेता टिमलाई नगद पुरस्कारसँगै ट्रफि, मेडल, प्रमाणपत्र र आकर्षक छात्रवृत्ति समेत प्रदान गरिने छ । नविनतम प्रविधिको प्रयोगगरि छायांकन गरिने क्वालिफाइङ राउण्डदेखिका सबै खेलहरु एपीवान एचडी टेलिभिजनबाट आगामी बैशाखको पहिलो साताबाट प्रसारण गरिने कार्यक्रमका निर्माता तथा निर्देशक रजिन महर्जनले बताएका छन् ।