पर्यटन सुदूरपश्चिम समृद्धिको आधार ː ढकाल |
धनगढी । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन नै सुदूरपश्चिम समृद्विको आधार रहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदुरपश्चिम महोत्सवलाई सोमबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष ढकालले पर्यटकिय क्षेत्रको विकासले नै यस क्षेत्रका जनताको जिवनस्तर माथि उठ्ने बताएका हुन ।
प्रदेश नम्बर ७ (सुदूरपश्चिम प्रदेश) का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख अथित्यमा सम्पन्न उद्घाटन सत्रलाई प्रदेशका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधि लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्थानीयस्तरमा आयोजना गर्ने यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । सुदूरपश्चिमका विद्यमान सम्भावनालाई अधिकतम उपयोग गर्न नेपालको निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको उनले बताए । सुदूरपश्चिम क्षेत्र दक्षिणी छिमेकी मित्र राष्ट्र भारतको सिमानासँग धेरै नजिक रहेकाले यहाँ उत्पादन हुने बस्तुहरु लाई अन्तरराष्ट्रिय बजारसम्म निर्यात गर्न समेत तुलनात्मकरुपमा सहज रहेको ढककाको भनाई थियो ।
सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्स्योरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालिटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुक भित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।