सहयोगी विकास बैंकको नाफामा २९१ प्रतिशतले वृद्धि |
जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५⁄०७६ को दोस्रो त्रैमासिकमा खुद नाफा २९१ प्रतिशतले वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५⁄०७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले नाफामा अत्यधिक वृद्धि गर्न सफल भएको हो ।
बैंकले २०७५⁄०७६ को पहिलो त्रैमासमा भन्दा ११६.९८ प्रतिशतले सञ्चालन मुनाफा वृद्धि गर्न सफल छ । बैंकको ०७४⁄०७५ को पहिलो त्रैमाससम्ममा १ करोडभन्दा बढी घाटा व्यहोर्नुपरेको थियो । बैंकले पहिलो त्रैमासमा अघिल्लो सोही महिनाको तथ्यांकमा पनि ३०० प्रतिशतले वृद्धि गर्न सफल भएको थियो ।
बैंकले गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष निक्षेप तथा कर्जा लगानीमा पनि वृद्धि गरेको छ । बैंकले निक्षेपमा २५.८२ प्रतिशतले वृद्धि गरेको र कर्जा लगानीमा २४.२२ प्रतिशतले वृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल बताए । जसमा गत वर्षको तुलनामा खुद नाफालाई १५ प्रतिशतले वृद्धि गरेको छ ।
गत वर्ष २०७४⁄०७५ को यही अवधिमा निक्षेप रू. ३ अर्ब ४५ करोड ४६ लाख ६९ हजार थियो भने यस वर्षको सोही अवधिमा ४ अर्ब ३४ करोड ६८ लाखसम्म पुर्याउन बैंक सफल भएको छ । त्यसैगरी, गत वर्षको सो अवधिमा लगानीतर्फ २ अर्ब ८४ करोड ८८ लाख ७१ हजार प्रवाह गरेको यस बैंकले चालू आवको सो अवधिमा बढाएर ३ अर्ब ६८ करोड १२ लाख ६६ हजार पुर्याउन सफल भएको छ ।
ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि बैंकले ‘एभरेज इन्ट्रेस्ट स्प्रेड’ दर ५.१० प्रतिशत कायम गर्न सफल भएको छ । बैंकले आफ्नो निष्क्रिय कर्जा २.४५ प्रतिशतबाट १.६३ प्रतिशतमा झार्न सफल भएको तथ्यांकले देखाएको छ ।
त्यस्तै, बैंकले आधार दरलाई १०.८८ प्रतिशतबाट १०.२५ प्रतिशत कायम गर्न पनि सफल भएको जानकारी दिएको छ । बैंकद्वारा प्रकाशित वित्तीय विवरणअनुसार बैंकको कोषको लागत र आधार दर घटे पनि बैंकको लागत बढेको देखिन्छ । बैंकले गत वर्षको तुलनामा सम्पत्तिमा पनि वृद्धि गरेको छ । प्राविधिक हिसाबले पनि बैंकले गत वर्षभन्दा राम्रो फड्को मारेको प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।
गत वर्ष २०७४⁄०७५ को यसै अवधिमा बैंकले आफ्नो कारोबार ८ शाखामार्फत गर्दै आएकोमा हाल आएर १२ वटा शाखा कार्यालयबाट कारोबार सञ्चालन गर्न सफल भएको छ । यही माघ महिनाभित्रै बैंकले दुईवटा शाखा थप गरी १४ शाखा मार्फत कारोबार गर्ने पनि उनले जानकारी दिए ।
त्यस्तै, प्रविधितर्फ आफ्नो एकवर्षे कार्यकालभित्रमा एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, प्रिभिलेज बैंकिङको सुविधाका साथै भिसा नेटवर्कमार्फत तीनवटा शाखामा एटीएम सुविधा उपलब्ध गराउँदै आएको उनले बताए । बैंक थप तीन शाखामा एटीएम सेवा सञ्चालन गर्ने प्रक्रियामा रहेको छ ।
साथै, बैंक ‘पेपरलेस बैंकिङ’ र ‘ट्याब बैंकिङ’मार्फत सेवा दिने तयारीमा रहेको पनि प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए । बैंकले एक वर्षको अवधिमा २० हजार ग्राहक थप गरी अहिले ८५ हजार सन्तुष्ट ग्राहक बनाउन सफल भएको छ । चुक्ता पूँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको बैंकको मुख्य कार्यालय जनकपुरमा रहेको छ ।
महोत्तरी, सिन्धुली र धनुषा कार्यक्षेत्र रहेको यस बैंकलाई प्रदेश नं. २ को उदाहरणीय बैंकको रूपमा स्थापित गराउँदै राष्ट्रियस्तरको विकास बैंक बनाउन आफू प्रतिवद्ध भएर लागेको प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।