एनएमबी बैंकको खुद नाफा १५ प्रतिशतले बढ्यो |
काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब १० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत पुस मसान्तको तुलनामा बैंकले १५.२८ प्रतिशतले खुद नाफा बढाएको हो ।
गत पुस मसान्तसम्ममा बैकले ९६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको खुद नाफामा १४ करोड ७१ लाख रुपैयाँले सुधार आएको हो ।
थप नयाँ साधारण शेयर (एफपीओ) विक्रीबाट संकलित प्रिमियमबाट बैंकले आफ्नो जगेडा कोष चुक्ता पूँजीभन्दा मजबुत बनाएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी भन्दा जगेडा कोष ४९ करोड बढी पुगेको छ । बैंकले गत २ आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस भने पूँजीकरण गर्न बाँकी छ ।
चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ अर्ब २४ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको यसै अवधिमा बैंकको जगेडा कोषमा ५ अर्ब ४० करोड ४८ लाख रुपैयाँ सञ्चित थियो । बैंकको जगेडा कोष ७१ प्रतिशतले बढेको हो ।
बैंकले प्रिमियम सहित प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ विक्री गरेको थियो । जसबाट बैंकको जगेडा कोषमा उल्लेख्य सुधार आएको हो ।