एनटीसीले जेडटीई र सीसीएसआई हङकङसँग गर्यो सम्झौता | अब एक वर्षभित्रमा देशभर फोरजीएलटीई सेवा विस्तार हुँदै
काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले फोरजीएलटीई सेवा विस्तारका लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।
फोरजीएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क– र्यान (आरएएन) का लागि एनटीसीले उक्त सम्झौता गरेको हो । एनटीसीका अनुसार उक्त सम्झौतामा एक वर्षभित्रमा देशभर फोरजीएलटीई सेवा विस्तार गरिसक्ने सम्झौता भएको हो ।
एनटीसीका अनुसार संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधीनमा रही सम्झौता गरिएको हो ।
नेपालभर ६५ लाख क्षमताको फोरजीएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुईवटा र्यान नेटवर्क तयार गरिनेछ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने एनटीसीले बताएको छ । र्यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिनेछ । एक वर्षभित्र परियोजना सकिनेछ ।
यसअघि टेलिकमले पहिलो पटक २०७३ पुस १७ गते काठमाडौं र पोखरामा फोरजी÷एलटीई सेवा सञ्चालन गरेको थियो । यो सेवा विस्तार भएपछि टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलेको रूपमा सञ्चालन गरिने कम्पनीले बताएको छ ।