संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान आज हुँदै |
काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्ताव गरेका अध्यक्षहरूविरुद्ध उजुरी आह्वान गर्न संसदीय सुनुवाइ समितिको बैठक आज आइतवार बस्दै छ । सम्भवतः आजको सुनुवाइको प्रक्रियापछि आयोगका अध्यक्ष तथा सदस्यहरू नियुक्त हुनेछन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षीलाई नसोधी निर्णय गरिएको आरोप लगाएपछि उजुरी आह्वान गर्ने निर्णय हुन सकेको थिएन । तर, कांग्रेसको विरोधबीच समितिले प्रस्तावित अध्यक्षहरूविरुद्ध उजुरी आह्वानको तयारी गरेको सत्तापक्षका नेताहरूले बताएका छन् ।
गत माघ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिश गरेको छ ।