अपुताली जग्गाको मुचुल्का बनाउन १० हजार घूस खाने नासु अख्तियारको फन्दामा |
महोत्तरी । मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ रू. १० हजार घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले हिजो शनिवार दिउँसो महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरबाट नायबसुब्बा ढकबहादुर कार्कीलाई रंगेहात पक्राउ गरेको हो ।
उनलाई सेवाग्राहीसँग घूस रकम लिइरहेको अवस्थामा पक्राउ गरिएके अख्तियारले जानकारी गराएको छ । अपुताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेबापत एक सेवाग्राहीसँग रू. १० हजार लिएको र आयोगले पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरेको बताएको छ ।
हाल उनी अख्तियारको नियन्त्रणमा रहेको र भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको आयोगको बर्दिवास कार्यालयले जानकारी दिएको छ । नासु कार्की केही महिनाअगाडि मात्र महोत्तरीस्थित मालपोत कार्यालयमा सरुवा भई आएका हुन् ।