कलाकार बीएस राणाको निधन |
काठमाडौं । नेपाली कलाकारिता क्षेत्रका एक नक्षेत्र आज शुक्रवार अस्ताएका छन् । कुनै जमानामा नेपाली चलचित्र र टेलिसिरियलहरूमा खम्बाकै रूपमा देखा परेका वरिष्ठ कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पछिल्लो समय आर्थिक अभाव र आज्मा रोगबाट पीडित उनी मृत्यु र जीवनसँग अस्पतालमा जुधिरहेका थिए । मौलिक अभिनयका धनी उनले सेतो बाघ, वसन्तीजस्ता चलचित्रमा खेलेर एक जमानामा राजदरबारकै नजिक बन्न पुगेका थिए ।
कलाकार राणाले दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, वसन्ती, दाग, दर्पण छायाँ–२, करोडपति, नेपालीबाबुलगायत चलचित्रमा अभिनय गरेका छन् ।
निकटवर्तीहरूका अनुसार रोगले च्याप्दै लगेपछि काम पाउन छाडेकाले घर चलाउन र उपचार खर्चका लागि पैसाको अभाव भएपछि उनले घरसमेत बेचे । उनलाई पछिल्लो समय कोठा भाडा तिर्नसमेत गाह्रो भएको थियो । कलाकार राणाको अन्त्येष्टिको सबै खर्च कलाकार संघले ब्यहोर्ने भएको छ ।
राणाका श्रीमती र दुई छोरी छन् । उनको छोराको भने १३ वर्षको उमेरमा निधन भएको थियो ।