उत्तर कोरिया परमाणु सामग्री नष्ट गर्न राजी भएको अमेरिकी दाबी |

काठमाडौं । उत्तर कोरियाले आफ्ना सम्पूर्ण परमाणु सामग्री नष्ट गर्न राजी भएको दाबी अमेरिकाले गरेको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टेफन बेगनले सम्पूर्ण परमाणु सामग्री नष्ट गर्न उत्तर कोरिया तयार रहेको दाबी गरेका हुन् । उनले अमेरिका र उत्तर कोरियाबीच परमाणु निःशस्त्रीकरणको विषयले गति लिन नसकिरहेका बेला त्यस्तो दाबी गरेका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले गत अक्टोबरमा गरेको उत्तर कोरिया भ्रमणका दौरानमा उत्तर कोरियाले त्यस्तो प्रतिबद्धता जायर गरेको दाबी उनको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयम्ले पनि उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणतर्फ उच्च प्रगति भएको जिरह गरेका थिए ।
उत्तर कोरियाले परमाणु सामग्री नष्ट गर्न प्रतिबद्धता जनाएकाले अब हुने वार्ताअघि त्यसको सूची उपलब्ध गराउनुपर्ने बेगनको भनाइ छ । ‘हामीले परमाणु अस्त्र निःशस्त्रीकरण गर्नुपूर्व उत्तर कोरियाका परमाणु सामग्री र त्यसको भण्डारबारे जानकारी पाउनुपर्छ’, बेगनले भने, ‘परमाणु भण्डारमा विज्ञ पठाउने र त्यसको अनुगमन गर्ने काम अन्तर्राष्ट्रिय मापदण्डअनुसार गर्नुपर्छ ।’
यता, उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु सामग्री नष्ट गर्न तत्परता देखाए पनि केही सर्तहरु अघि सारेका छन् । बीबीसीका अनुसार, विगतमा अमेरिकाले जनाएका प्रतिबद्धताहरुको सुनिश्चितता किमले खोजेका छन् । परमाणु निःशस्त्रीकरणमा सहमति जुट्ने देखिए पनि ट्रम्प–किमबीच हुने भनिएको दोस्रो शिखर वार्ताको मिति र स्थान भने अझै तय भएको छैन । यद्यपि, ट्रम्पले बिहीवार छिट्टै शिखर वार्ताको मिति र स्थान तय हुने बताएका थिए । दुवै देशबीच गत वर्ष पहिलोपटक सिंगापुरमा शिखर वार्ता भएको थियो ।