आजबाट आशा लघुवित्तको आईपीओ खुल्यो, १० देखि ३ हजार ३७० कित्तासम्म आवेदन गर्न सकिने |
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गते (आज) देखि ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । लघुवित्त कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
लघुवित्तले निष्काशन गर्ने कूल ६ लाख ७४ हजार कित्तामध्ये १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ । ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । जसमा न्यूनतम १० कित्तादेखि ३ हजार ३७० कित्तासम्म आवेदन गर्न सकिनेछ ।
लघुवित्तले निष्काशन गर्न लागेको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी आईपीओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।
नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले शेयर निष्काशन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई यसअघि नै नियुक्त गरिसकेको छ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपीओमा आवेदन गर्न सक्नेछन् भने मेरो शेयर प्रयोगकर्ताले उक्त सफ्टवेयर मार्फत माघ २२ गतेसम्म आवेदन गर्न सक्नेछन् ।
हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपीओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।