सानिमा बैंकको खुद नाफा एक अर्ब नजिक |
काठमाडौं । सानिमा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९८ करोड २० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा यो १८.२५ प्रतिशत अर्थात १५ करोड १५ लाख रुपैयाँले बढी हो । गत वर्ष बैंकले ८३ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
एनएफआरएस प्रतिवेदन अनुसार सानिमा बैंकले ९४ करोड ९९ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत वर्ष यस्तो रकम ८० करोड ८३ लाख रुपैयाँ रहेको थियो ।
चालू आवको दोस्रो त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एडजस्टमेन्टमा ३ करोड २१ लाख व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफाभन्दा घटेको हो । तर गत बर्षको दोस्रो त्रैमासको तुलनामा भने फ्रि प्रोफिट बढेको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख रुपैयाँमा स्थिर रहेपश्चात बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ६२ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात १२.३५ गुणा बढी रहेको छ । गत वर्ष २ अर्ब ३ करोड ८६ लाख रुपैयाँ संचित रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ ।
सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ८५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १७ अर्ब १८ करोड रुपैयाँले बढी हो । गत वर्ष ६८ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
त्यसैगरि कर्जा परिचालनतर्फ ६१ अर्ब २३ लाख रहेकोमा बढोत्तरी गरेर ७७ अर्ब २२ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले निक्षेप संकलन २५.०८ र कर्जा विस्तारलाई २६.११ प्रतिशतले बढाउँदै आफ्नो खुद नाफा बढाएसँगै बैंकको अधिकांश सूचक सकारात्मक देखिएका हुन् । बैंकले व्यवसायको आकार बढाउँदै आफ्नो खुद नाफा बढाएर वाणिज्य बैंकहरुमा आफूलाई अब्बल बनाउन लागि परेको छ ।