आरएमडीसी लघुवित्तको नाफा १४ करोड ६८ लाख |
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले १४ करोड ६८ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३१ प्रतिशत अर्थात तीन करोड ४६ लाख रुपैयाँले धेरै हो । यस अवधिमा कम्पनीले दश प्रतिशत बोनस बाँडेर चुक्ता पूँजी ७९ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ ।
संस्था जगेडा कोषको आकार एक अर्ब ४३ करोड पुगेको छ । गत पुसको तुलनामा कम्पनीको जगेडा कोष १४ करोड ३४ लाख रुपैयाँले बढेको हो । गत वर्षको यसै अवधिमा लघुवित्तले ११ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तले आम्दानी र खर्चका सूचकहरुलाई सन्तुलनमा राख्दै नाफा बढाएको देखिन्छ ।
लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने यस लघुवित्तले ६ अर्ब १८ करोड २२ लाख रुपैयाँ ऋण लिएर ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले २३ करोड ३७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५ करोड २१ लाख रुपैयाँले धेरै हो ।
लघुवित्तहरुमा मात्र कर्जा प्रवाह गर्ने भएकाले यस कम्पनीमा खराब कर्जा अनुपात शून्य प्रतिशत रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ७४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २७९ रुपैयाँ १८ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १४.८३ गुण बढी छ ।