बेष्ट फाईनान्सको नाफा तीन करोड ६१ लाख |
काठमाडौं । बेष्ट फाइनान्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा सामान्य सुधार भएको छ । यो त्रैमासमा फाईनान्सले तीन करोड ६१ लाख रूपैयाँ आर्जन गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा एक लाख ८६ हजार रूपैयाँले मात्र धेरै हो ।
गत वर्ष पुस मसान्तसम्म फाइनान्सले तीन करोड ५९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी ८१ करोड रूपैयाँ रहेको फाइनान्सको जगेडा कोष १६ करोड ४७ लाख रूपैयाँ नोक्सानीमा छ ।
यस त्रैमासमा फाइनान्स निक्षेप संकलन र कर्जा परिचालनमा आक्रमक रूपमा प्रस्तुत भएको छ । पुस मसान्तसम्म दुई अर्ब ३३ कारोड ४९ लाख रूपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले दुई अर्ब १७ करोड ५३ लाख रूपैयाँ कर्जा लगानी गरेको छ ।
गत वर्षको तुलनामा फाइनान्सको निक्षेप संकलन दुई अर्ब १६ करोड १२ लाख रूपैयाँ र कर्जा प्रवाह एक अर्ब ९७ करोड तीन लाख रूपैयाँले बढोत्तरी भएको हो ।
चालु आवको दोस्रो त्रैमाससम्मा फाइनान्सले ७ करोड ८२ लाख रूपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ६ करोड ६० लाख रूपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा फाईनान्सले एक करोड २१ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
फाइनान्सले खराब कर्जा अनुपात सुधार गरेको छ । हाल फाइनान्समा निष्कृय कर्जा अनुपात २१.७० प्रतिशत छ । गत वर्ष यसै अवधिमा फाइनान्सको खराब कर्जा अनुपात ७२.०७ प्रतिशत थियो ।
फाईनान्सको प्रतिशेयर आम्दानी ४ रूपैयाँ ४६ पैसा छ भने प्रतिशेयर नेटवर्थ ७९ रूपैयाँ ६५ पैसा छ । फाइनान्स मूल्यआम्दानी अनुपात २२.४१ गुणा बढी छ ।