भद्रपुरमा बुध्द एयरको रात्रीकालिन परिक्षण उडान सफल, अब दैनिक ३ उडान |
काठमाडौं । आज बुध्द एयरले भद्रपुरमा रात्रिकालिन विमान उडानको सफलतापूर्वक परीक्षण गरेको छ । यस प्रविधिलाई एरिया नेभिगेसन (आरएनएभी) भनिन्छ । आरएनएभीको सहायताले ʽलो भिजिबिलिटीʼ र हाल जडान गरिएको रनवे लाईटले अब रात्रिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिने छ । यो प्रविधि संसारभरि प्रचलित र सुरक्षित हो।
यसअघि ʽलो भिजिबिलिटीʼ र सूर्यास्तपश्चात् उडान रद्घ गर्नु पर्थ्यो । जसले गर्दा यात्रुलाई कठिनाई पर्नुका साथै विमान कम्पनीलाई पनि थप आर्थिक भार पर्ने गरेको थियो । अहिले भद्रपुरमा नियमित दुई उडान संचालनमा छ । १० फेब्रुअरीबाट रात्रीकालिन उडानसंगै दैनिक तीन उडान संचालन हुनेछ ।
हवाईयात्रा हरेक तप्काले गर्न सकुन् भन्ने हेतुले नै बुध्द एयरले विभिन्न प्रकारका भाडादर राखेको जानकारी दिएको छ । .अहिले दैनिक सयौं स्वदेशी तथा विदेशी यात्रुहरुले भद्रपुरबाट काठमाण्डौँको उडान भरिरहेका छन् । यसबाट स्थानीय बजारमा पनि चहलपहल बढेको छ भने रोजगारीमा पनि टेवा पुगेको छ ।
बुध्द एयरकै पहलमा भद्रपुरमा हवाई इन्धनको व्यवस्था भएको कम्पनीको भनाई छ । गत वर्ष खराब मौसम र ʽलो भिजिबिलिटीʼ का कारण एयरलाइन्सहरुको दर्जनौ उडानहरु रद्घ भएको थियो । यात्रुहरुको मागलाई ध्यानमा राखेर नागरिक उड्डयन प्राधिकरणले करिब ६ महिना अगाडी नै यस विमानस्थलमा आरएनएभी प्रविधि जडान गरिएता पनि रात्रिकालिन उडानका लागि आवश्यक रनवे लाईटहरु जडान गर्न बाँकी थियो । अब यस समस्याको समाधान भैसकेको छ ।
पूर्वका चार जिल्ला झापा, इलाम, पाँचथर, ताप्लेजुङको प्रवेशद्वारका रुपमा भद्रपुर चिनिन्छ । त्यस्तै छिमेकी मुलुक भारतका सिलिगढि, दार्जिलिङ, सिक्किम मात्र नभई तेश्रो मुलुक भुटान तथा बंग्लादेशलाई पनि भद्रपुरले जोड्ने गरेको छ ।
रात्रीकालिन उडानका लागि नागरिक उड्डयन प्राधिकरण र यसका विशेषज्ञ टोलीले यसअघि धनगढिमा पनि आवश्यक पूर्वाधारहरु जडान गरि बुध्द एयरले टेस्ट फ्लाईट र लगत्तै रात्रीकालिन व्यवसायिक उडान पनि भर्दै आइरहेको छ ।
बुध्द एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरि आफ्नो प्राविधिक टोलीलाई संलग्न गराई शुरुदेखि नै आरएनएभी प्रविधिलाई विभिन्न विमानस्थलहरुमा कार्यान्वयन गर्दै आएको छ । आगामी दिनमा थप विमानस्थलहरु जस्तै तुम्लिङतार, सुर्खेत, भरतपुरमा पनि विस्तार गर्दै जाने योजना बनाएको छ ।
आरएनएभी प्रविधि जनकपुर एयरपोर्टमा पनि बुध्द एयर तथा प्राधिकरणको सहकार्यमा सम्पन्न हुने अवस्थामा रहेको छ । अब हामी केही महिनामै त्यहाँ पनि परिक्षण उडान र तत्पश्चात् व्यवसायिक उडान भर्ने छौं ।