नेपाल–भारत संयुक्त सुरक्षा बैठकले गर्यो पाँचबुँदे सहमति, केके छन् सहमतिमा हेर्नुहोस् |
रौतहट । नेपाल–भारतबीचको संयुक्त सुरक्षा समितिको बैठक भारतको बिहार राज्यस्थित मोतिहारीमा हिजो मंगलवार सम्पन्न भयो । दुई देशका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको उक्त बैठकले विभिन्न पाँचबुँदे सहमति गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी लोकेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा दुवै देशबीच भएको पाँचबुँदे सहमतिमा के के छन् ?
१) सन् २०१९ मा भारतमा हुन लागेको लोकसभाको निर्वाचनलाई शान्तिपूर्ण बनाउन दुवै देशका सुरक्षा निकाय सजग भएर लाग्ने ।
२) खुल्ला सिमानाबाट हुने गरेको अवैध हातहतियार तस्करी नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकाय विशेष रूपमा लागिपर्ने ।
३) सीमामा हुनसक्ने आतंकवादी गतिविधि रोक्न दुवै देश मिलेर काम गर्ने, दुई देशबीच सुरक्षासम्बन्धी सूचना आदानप्रदान नियमित गर्ने।
४) भारतीय लोकसभा निर्वाचनअघि दुई देशका सुरक्षा प्रमुखहरूको फेरि बैठक बसेर चुनावका लागि सीमा सिल गर्ने ।
५) बैठकमा भारतीय पक्षले भारत–नेपालबीच खुल्ला सिमानाका कारण हुनेगरेका विभिन्न सामानको तस्करीका साथै नेपालबाट भारततर्फ हुने मदिरा तस्करी रोक्ने ।
बैठकमा बोर्डर एरियामा हुने अवैध मदिराको विक्री वितरण नियन्त्रण गर्न र लोकसभाको निर्वाचनताका भारतीयलाई नेपालतर्फ आएर मदिरा सेवन गर्न नदिन भारतीय सुरक्षा प्रमुखहरूले प्राथमिकताका साथ आग्रह गरेको बैठकमा सहभागी रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिए ।
निर्वाचन ताका प्रचार प्रसार बन्द गर्ने आचारसंहिता लागू भएपछि नेपालका एफएम रेडियोहरूबाट भारतीय निर्वाचनको प्रचारप्रसार बन्द गराउन पनि भारतीय सुरक्षा अधिकारीले नेपाली सुरक्षा अधिकारीको ध्यानाकर्षण गराएको एसपी ढकालले जानकारी दिए ।
बैठकमा नेपालको तर्फबाट रौतहटका सीडीओ लोकेन्द्र पौडेलको नेतृत्वमा बारा, पर्सा, चितवन, नवलपरासी, पश्चिम नवलपरासीका सीडीओ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका एसपीहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी भारतको तर्फबाट भारत बिहार पुर्वीचम्पारणका डीएम रमन कुमारको नेतृत्वमा पश्चिमी चम्पारणका डीएम मिलेश रामचन्द्र देवडे र गोपालगंजका डीएम अमिनेशकुमार प्रसारलगायत भारतीय सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।