एलआईसी नेपालको अध्यक्षमा भार्गव, सीईओमा दास |
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन् । कम्पनीको हिजो सोमवार बसेको सञ्चालक समितिको बैठकले माघ १५ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सीईओ दास जीवन बीमा क्षेत्रमा २६ वर्षको अनुभवी व्यक्तित्व हुन् । उनी यसअघि एलआईसी अफ इण्डियामा सिनियर डिभिजनल म्यानेजरको रूपमा कार्यरत थिए ।
साथै, उक्त बैठकले इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षको रूपमा हेमन्त भार्गवलाई नियुक्त गरेको छ । जीवन बीमामा ३७ वर्षको अनुभव सँगालेका भार्गव एलआईसी अफ इण्डियाको वर्तमान कार्यकारी अध्यक्ष हुन् ।
त्यस्तै, समितिले प्रमोटर शेयरधनी एलआईसी अफ इण्डियाबाट प्रतिनिधित्व गर्ने बीमकको सञ्चालक समितिका अध्यक्ष भी.के. शर्माले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । उक्त रिक्त स्थान तथा बाँकी कार्यकालसम्मको अवधिका लागि भार्गवलाई नियुक्त गरेको हो ।