अमेरिकामा ʽभिडियो गेमʼ को व्यापार ४४ अर्ब डलर |
ʽफोर्टनाइटʼ, ʽपोकेमोन गोʼ समेतका लोकप्रिय ʽभिडियो गेमʼ उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो ।
इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भएको छ ।
ʽमोबाइलमा तथा घरका कम्प्युटरमा सबै उमेर समूहका उपभोक्ताले भर्चुअल खेल निकै मन पराएको पाइयो,ʼ एनपीडीका विश्लेषक म्याट पिस्काटेल्लाले बताए ।
इएसए र एनपीडीका अनुसार अमेरिकामा भिडियो खेलका लागि आवश्यक विद्युतीय हार्डवेयरको विक्रीमा पनि निकै सुधार आएको छ । अघिल्लो वर्ष करिब ६ दशमलब ५ अर्ब अमेरिकी डलरको हार्डवेयर विक्री भएकामा गत वर्ष ७ दशमलब ५ अर्ब अमेरिकी डलरको सामान विक्री भएको छ ।
गत वर्ष पश्चिमा मुलुकको काउब्वाई संस्कृति झल्कने भिडियो खेल ʽरेड डेड रिडेम्पसन २ʼ को विक्री सर्वाधिक भएको थियो । दोस्रो र तेस्रो स्थानमा क्रमशः ʽब्याक अप्स ४ʼ र ʽकल अफ ड्युटीʼ रहेका थिए ।
इएसएका कार्यबाहक अध्यक्ष स्टान्ले पियर–लुइसले अन्तरक्रियात्मक मनोरञ्जनयुक्त सामग्री अमेरिकी बजारमा खुबै लोकप्रिय भइरहेको बताए ।
अमेरिकामा करिब १५ करोड मानिसले भिडियो गेम खेल्छन् । यस उद्योगमा दुई लाख २० हजारभन्दा बढीले रोजगारी पाएका छन् ।
एजेन्सी