नक्कली ब्लूबुक देखाई बैंकबाट कर्जा लिने बैंकका शाखा प्रबन्धकसहित आठ जना पक्राउ |
काठमाडौं । देव विकास बैंकका विभिन्न शाखाहरूबाट नक्कली ब्लूबुक र सवारीसाधन बैंकका कर्मचारीलाई देखाई २ करोड ७१ लाखभन्दा बढी रकम ठगी गर्ने आठ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले बैंकका कर्मचारी र मूल्यांकनकर्तालाई सवारीसाधन देखाई ब्लूबुकमा गलत विवरण भरी सुरक्षणस्वरुप बैंकमा धितो राखी विभिन्न ११ जना ऋणीको नाममा रकम निकासा गरेका थिए । बैंकलाई हानि नोक्सानी पुर्याउने उक्त कार्यको मुख्य योजनाकार नारायणबहादुर श्रेष्ठ रहेको सीआईबीले बताएको छ ।
पक्राउ परेकाहरूलाई मोरङ, काभ्रे र काठमाडौंलगायतका स्थानबाट पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । उनीहरूविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ तथा मुलुकी ऐनको सरकारी छाप दस्तखत किर्ते कागजको महलबमोजिमको कसुरमा समेत अनुसन्धान पूरा गरी बैंकिङ कसूरतर्फको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिल कार्यालय माइतीघर र सरकारी छाप दस्तखत किर्तेतर्फको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौं र ललितपुरसमक्ष पेश गरिएको सीआईबीका प्रवक्ता उमाप्रसाद चर्तुदेवीले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा काभ्रेका साविक सापिङ–४ घर भई हाल भुम्लु गाउँपालिका– १ बस्ने पाँच जनामा ३६ वर्षीय नारायण श्रेष्ठ, ३० वर्षीय बालकृष्ण श्रेष्ठ, ३४ वर्षीय चेतबहादुर श्रेष्ठ, २६ वर्षीय विकास श्रेष्ठ, ३२ वर्षीय नवीन श्रेष्ठ रहेका छन् ।
त्यसैगरी, काभ्रे, चौबास–४ हाल गोठाटार काठमाडौं बस्ने ४२ वर्षीय कृष्णबहादुर खत्री, पर्सा जिल्लाको गवहा विरगंज घर भई हाल ललितपुरको ज्वागल–१० बस्ने नेरशमान सिंह अमात्य र काठमाडौं महानगरपालिका– २३ बस्ने ३७ वर्षीय शंकर श्रेष्ठ रहेका छन् । श्रेष्ठ तत्कालीन देव विकास बैंकका शाखा प्रबन्धक समेत रहेको प्रहरीले बताएको छ ।