माघ २२ गतेदेखि ग्रीनलाइफको आईपीओ आउँदै | न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले माघ २२ गतेदेखि छिटोमा फागुन ७ गतेसम्म १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । यो आईपीओका लागि प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम २० कित्ता र अधिकतम ९ हजार कित्तासम्मका लागि आवदेन दिन पाउनेछन् ।
उक्त आईपीओ पहिलो चरणमा विक्री नभएमा फागुन २७ गतेसम्म निष्कासन गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार प्रभावित क्षेत्रका बासिन्दाले ३ वर्षसम्म उक्त शेयर विक्री गर्न पाउने छैनन् ।
आईपीओ आवेदनका लागि हाइड्रोपावरको आयोजना स्थल, सेञ्चुरी कमर्शियल बैंकका शाखा कार्यालयहरू सिंगटी, चरिकोट, जिरी, बैतेश्वर शाखाबाट पाइनेछ ।
कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । प्रभावित क्षेत्रका लागि १८ करोड रुपैयाँ र सर्वसाधारणका लागि १८ करोड रुपैयाँसहित ३६ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ । सर्वसाधारणतर्फ २० प्रतिशत र संस्थापकतर्फ ८० प्रतिशतसहित जम्मा चुक्ता पूँजी एक अर्ब ८० करोड रुपैयाँ पुर्याउनेछ ।
कम्पनीले दोलखामा ४० मेगावाट क्षमताको खानीखोला–१ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी चैतदेखि उत्पादन शुरू गर्ने भनिएको उक्त आयोजनाको निर्माण सम्पन्न गर्न कुल लागत ६ अर्ब ३९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८ वर्ष लाग्नेछ । केयर रेटिङ नेपालले गरेको रेटिङअनुसार यस कम्पनीले औसत आधार जनाउने ‘केयर रेटिङ आईपीओ ४’ प्राप्त गरेको छ ।