ग्रामिण विकास लघुवित्तको चौथो वाषिर्क साधारण सभा सम्पन्न, लाभांश नदिने |
बुटवल । बुटवलको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई लाभांश नदिने भएको छ । आर्थिक वर्ष २०७४⁄७५ मा मर्जरको बेला कायम रहेको सञ्चित नोक्सानीको अंश पूरा नभएकाले लाभांश नदिने भएको हो । कम्पनीले बिना लाभांश शनिबार चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाले २०७४⁄७५ को आषाढ मसान्तसम्म १६ करोड ३ लाख १० हजार खुद नाफा आर्जन गरेको छ । कम्पनीले देशका ५७ जिल्लामा १८८ वटा इलाका र शाखा कार्यालय मार्फत लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा पुर्याउँदै आएको छ ।
सो अवधिमा लगानीमा रहेको बाँकी कर्जा ८ अर्ब ६६ करोड र बचत परिचालन २ अर्ब ७४ करोड रहेको सस्थाले जानकारी दिएको छ । समीक्षा अवधिमा गत वर्षको तुलनामा मुनाफामा १२.६५ प्रतिशत, लगानीमा रहेको बाँकी कर्जामा १२.१५ प्रतिशत र बचत परिचालनमा २१.६७ प्रतिशतले वृद्धि भएको छ ।
पूँजी वृद्धिका लागि पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने कार्य अघि बढाइएको बताइएको छ । शेयर जारीपछि चुक्ता पूँजी ९८ करोड २५ लाख रूपैयाँ पुग्ने छ । संस्थाको चुक्ता पूँजी ६५ करोड ५० लाख रूपैयाँ रहेको छ ।
यस्तै सभाले संस्थाको सर्वसाधारण समूहतर्फको रिक्त सञ्चालक पदमा सुशील कुमार थापालाई निर्वाचित गरेको छ ।
गत आश्विन ५ गते सम्पन्न भएको संस्थाको विशेष साधारणसभाको निर्णय अनुसार पचास प्रतिशत अर्थात २ शेयर बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर जारी गरी पूँजीको आधार थप मजबुत बनाउन लागेको बताइएकोे छ ।