जन्ती बसमा करेन्ट लाग्दा मृत्यु भएका परिवारलाई रू. ५ लाख क्षतिपूर्ति | घाइतेलाई पनि उपचार खर्च दिने सरकारको निर्णय
काठमाडौंं । सरकारले धनुषाबाट जन्ती बोकेर सिन्धुली आउँदै गरेको बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रू. ५ लाख क्षतिपूर्ति दिने भएको छ ।
धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कंदै गर्दा उक्त बसमा यही माघ ११ गते साँझ करेन्ट लागेर छ जनाको मृत्यु भएको थियो ।
मृतक र घाइते परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद गणेश पहाडी, पूर्वसभासद् विषमलाल अधिकारी र कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले पहल गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज सोमवार मन्त्रीस्तरीय निर्णय गरी क्षतिपूर्तिबापत उक्त रकम दिन लागिएको हो ।
साथै, उक्त दुर्घटनामा घाइते भएका सबैको उपचार खर्च व्यहोर्ने निर्णय पनि बैठकले गरेको छ । करेन्ट लागेर घाइते भएका २१ मध्ये १९ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी दुईमध्ये फुलकुमारी कुँवरको जनकपुर अञ्चल अस्पताल र पवन परियारको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । क्षतिपूर्ति रकम मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमार्फत उपलब्ध गराउने बताइएको छ ।