युनिभर्सल पावरको आईपीओ निष्कासन आजदेखि बन्द हुँदै |
काठमाडौं । युनिभर्सल पावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुल्ला गरेको साधारण शेयर (आईपीओ) आज आइतवार बन्द हुँदै छ । कम्पनीले यसअघि न्यून मात्रामा मात्र आवेदन परेपछि दोस्रो पटक समय थप गरेको थियो ।
कम्पनीले गत पुस १५ गतेदेखि १ सय रुपैयाँ अंकित दरका २१ करोड ३५ हजार रुपैयाँबराबरको २१ लाख ३ सय ५० कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको हो ।
कम्पनीले पहिलो चरणमा निष्कासन गरेको उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र दोलखाको गौरीशंकर, कालिन्चोक र विगु गाउँपालिकाका स्थानी जनताले मात्र आवेदन गर्न पाउँछन् । यो आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।
दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ । आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँका दरले २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ र जारी पूँजी दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ रहेको छ ।