एनआईसी एशियाको ४ अर्बको ऋणपत्र आजदेखि खुल्ला | सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि आवेदन गर्न पाइने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ४ अर्ब रुपैयाँबराबरको कुल ४० लाख कित्ता ऋणपत्रका लागि आज आइतबारदेखि आवेदन खुला गरेको छ । ‘१० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८५÷८६’ नाम दिइएको उक्त ऋणपत्रको अवधि १० वर्ष र ब्याज पनि वार्षिक १० प्रतिशत नै रहेको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार ब्याजदर प्रत्येक ६ महिनामा भुक्तानी गरिने बैंकले बताएको छ ।
सो ऋणपत्रका लागि सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँदेखि अधिकतम २० लाख कित्ता अर्थात् २ अर्ब रुपैयाँसम्मको आवेदन दिन सक्ने व्यवस्था छ । एक हजार रुपैयाँ अंकित दरमा जारी गरिने सो ऋणपत्र जारी गर्नका लागि बैंकले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बैंकका अनुसार निष्कासन गरिने उक्त ४० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४० करोडको २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने र बाँकी ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ ।
सर्वसाधारणमा निष्कासन हुने ऋणपत्रमध्ये पनि ८० हजार कित्ता सामूहिक लगानी कोषको इकाइलाई छुट्याइएको छ भने १५ लाख २० हजार कित्ता सर्वसाधारणलाई विक्री हुनेछ । उक्त ऋणपत्रका लागि आजदेखि छिटोमा माघ १६ गते र सो समयमा आवश्यक आवेदन नपरेमा फागुनसम्म आवेदन गर्न सकिने विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ ।
उक्त ऋणपत्रलाई केयर रेटिङ्स् नेपालले लो क्रेडिट रिस्क जनाउने ‘केयर एनपी ए’ ग्रेडिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको कम्पनी तथा कर्जा जोखिम न्यून रहेको संस्था भएको बुझ्नुपर्छ । वार्षिक १० प्रतिशत ब्याज प्रस्ताव गरिएको यो ऋणपत्र लगानीकर्ताका लागि उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीन लगानी गर्ने अवसर रहेको बैंकको विश्वास छ ।