ब्राजिलमा बाँध भत्किएर मर्नेको संख्या ३४ पुग्यो, ३ सय अझै बेपत्ता |
काठमाडौं । ब्राजिलमा शुक्रवार खानीको बाँध भत्किएर आएको बाढीमा परी ३ सय जना बेपत्ता भएका छन् भने कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन् । ब्राजिलको दक्षिण–पूर्वमा अवस्थित ब्रुमाडिनानजिकै अवस्थित खानी भत्किँदा क्षति र हताहती भएको हो ।
बीबीसीका अनुसार, हिलोसहितको बाढीले चमेनागृहमा खाजा खाइरहेकाहरूलाई बगाएको थियो । हराइरहेकाहरूको उद्धार तथा खोजी कार्यका लागि उद्धारकर्ताहरू लागिपरेका छन् । माटो पन्छाउने यन्त्रको सहायताले उद्धारको प्रयास भइरहे पनि जीवितै उद्धार हुने सम्भावना कम रहेको राज्यका गभर्नरले बताएका छन् ।
उक्त बाँध ब्राजिलकै सबैभन्दा ठूलो खानी कम्पनी भालीको भएको समाचारमा उल्लेख छ । ब्राजिलको मिनज जराइसस्थित मारिआनामा तीन वर्षअघि बाँध भत्किँदा पनि १९ जनाले ज्यान गुमाएका थिए ।