उच्च भेगमा वर्षासँगै हिमपात, जनजीवन प्रभावित |
काठमाडौं । नेपालका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । हिमपातले बालीनाली सप्रिने भएकाले किसानहरू खुशी भएका छन् । तर, हिमपातले चिसो बढेकाले जनजीवन भने प्रभावित भएको छ ।
बाजुराको बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिमपात भउपछि बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । हिमपातका कारण मार्तडी–कोल्टी सडकमा आवतजावतसमेत रोकिएको छ । सो क्षेत्रमा चार–पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समस्या भएको र सडक पूर्णरूपमा बन्द भएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । त्यस्तै, कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिकामा सञ्चार सुविधासमेत विच्छेद भएको छ ।
तयसैगरी, पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेपछि जनजीवन प्रभावित बनेको छ । हिजो शुक्रवार साँझदेखि नै जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकमा तीन फिट बाक्लो हिउँ परेको छ । वर्षासँगै भएको हिमपातले उपल्लो बस्तीका हिउँदे बाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ तर जनजीवन भने प्रभावित भएको छ ।
त्यसैगरी, बागलुङको काठेखोला गाउँपालिका– ४ बिहुँ, दहपानी र आसपासमा पाँच वर्षपछि हिमपात भएको छ । बिहुँ, ठानडाँडा, शिवालय, घोडाबाँधे, कर्लेम, लेखानीलगायतका गाउँ हिउँले सेताम्ये देखिएका छन् । सो गाउँपालिका–४ का वडा सदस्य शिवलाल कँडेलले उक्त क्षेत्रमा पाँच वर्षपछि हिउँ परेको बताए । त्यहाँ स्थानीयवासी र घुम्न आएका पर्यटकहरू आज बिहानैदेखि हिउँ खेलेर रमाएका छन् । गुल्मी जिल्लाका उच्च स्थानमा पनि हिमपात भएको छ ।