जिप्रका सुनसरीलाई एनआईसी एशियाको सहयोग |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सडक सूरक्षासम्बन्धी सचेतनामूलक सूचनाहरूसहितका १४ थान रोड ब्यारिकेड र १४ थान प्रहरी चेकिङ बोर्ड प्रदान गरेको छ । बैंकका उपप्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले ती सामग्रीहरू उक्त कार्यालयलाई आज बिहीवार हस्तान्तरण गरेका हुन् ।
बैंकले सुनसरी जिल्लाको सुरक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको बैंकले बताएको छ । यस्ता कार्यक्रमहरूले अन्य संघसंस्था तथा व्यक्तिहरूलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरूमा योगदान पु¥याउन प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।
हाल बैंकले मुलुकभर फैलिएका २७५ वटा शाखा कार्यालय, २८९ एटीएम, ३९ वटा एक्स्टेन्सन काउण्टर र २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत उच्चस्तरी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । वासलातको आकार रू. २१६ अर्बभन्दा बढी, कुल निक्षेप करिब रू. १७५ अर्ब पुगेको उक्त बैंकले कुलकर्जा लगानी करिब रू. १४९ अर्ब पुर्याउन सफल भएको छ ।
ग्राहक संख्या करिब १४ लाख ५० हजार रहेको उक्त बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आएको छ ।