‘शिक्षा विधेयक फिर्ता हुने सम्भावना छैन’ | कोइरालाका नाममा खोलिएको अस्पताललाई आवश्यकता र औचित्यताका आधारमा व्यवस्थित गरिने
काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियाअनुसार नै पारित हुने बताएका छन् । उनले भने, ‘अब यो विधेयक फिर्ता हुने सम्भावना छैन । पर्याप्त छलफल र सम्बन्धित समिति हुँदै अघि बढेको विधेयकमा रहेका प्रावधान पर्याप्त अध्ययन नै नगरी विरोध गरिएको छ ।’
मन्त्रिपरिषद्बाट भएका पछिल्ला निर्णयहरू सार्वजनिक गर्न आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले त्यस्तो धारणा व्यक्त गरेका हुन् । प्रतिनिधिसभाको बैठक भोलि शुक्रवार बस्दैछ ।
सो अवसरमा मन्त्री बाँस्कोटाले शिक्षा विधेयक सम्बन्धित समितिमा मतदानका आधारमा निर्णय भई संसदमा गइसकेकाले अब संसद्को सम्पत्ति र क्षेत्राधिकारमा परेकाले संसदीय प्रक्रियाबाटै पारित हुने बताए । उक्त विधेयकको विरोधमा डा गोविन्द केसीको १६औं अनशन जारी नै छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत सदनमा अवरोध कायमै राखेको छ ।
१० वर्षसम्म काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने, मेडिकल कजेल गैरनाफामुखी हुनुपर्ने, विद्यार्थीको कोटा निर्धारण, विशेष छात्रवृत्ति, विपन्न विद्यार्थीलाई सहुलियतमा ऋणजस्ता जनमुखी व्यवस्था ल्याउन प्रस्ताव गरिएको विधेयकलाई माफियामुखी भएको भनिनु आफूले पनि बुझ्न नसकेको मन्त्री बाँस्कोटाको भनाइ थियो ।
उनले भने, ‘कानून बनाउने थलो अस्पताल हो कि संसद् हो ? संसदीय समितिले औपचारिक रुपमा निमन्त्रणा गर्दा पनि डा. केसी किन आउनुभएन ?’ छलफल गर्ने थलो संसद् नै भएको बताउँदै छलफलमा रातोपिरो भइएला तर लोकतन्त्र र संसदीय विधि भनेको मतदान वा प्रक्रिया हो, त्यो हुन्छ, यसलाई सरकारको दम्भ नठान्न उनको आग्रह थियो ।
उनले संसदमा विधेयक प्रस्तुत गर्न नदिने, सभामुखलाई बाटो छेक्नेजस्ता शैली अलोकतान्त्रिक भएको उल्लेख गर्दै संविधान पनि संशोधन गर्न सक्ने संसद्ले कानून पारित गर्न सक्ने स्पष्ट पारे ।
पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका नाममा खोलिएको अस्पताललाई संघीय सरकारअन्तर्गत नराखिएको सन्दर्भमा मन्त्री बाँस्कोटाले उक्त अस्पताललाई आवश्यकता र औचित्यताका आधारमा व्यवस्थित गरिने स्पष्ट पारे ।
संवैधानिक आयोगका पदाधिकारीको मर्यादा क्रममा उत्पन्न असन्तुष्टिबारे सोधिएको प्रश्नमा मन्त्री बाँस्टोकाले सबैभन्दा माथि जनताको मर्यादा क्रम हुने र अन्यको जनताले राखिदिएको ठाउँमा मर्यादा क्रम हुने जवाफ दिए ।