भन्सार कार्यालयहरू सेवामुखि हुनुपर्छ ː महासंघ |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध व्यवसायीहरूले व्यापार सहजीकरणको मूलभूत सिद्धान्त अनुसार भन्सार कार्यालयहरू बढी सेवामुखि हुनुपर्नेमा जोड दिएका छन् । भन्सारबाट संकलन हुने राजश्व र भन्सारका दरहरु देश भित्र रहेका उद्योग व्यवसायहरूलाई संरक्षण दिनेतर्फ उन्मुख हुनुपर्ने उनीहरुको भनाई थियो ।
६७ औं अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भंसार विभागका महानिर्देशक तोयम राया र विभागका निर्देशकहरू सहित वरिष्ठ अधिकारीहरूसंग व्यवसायीहरुले नचाहँदा नचाहँदै पनि न्यून बिजकीकरण वा अधिक बिजकीकरणको समस्या भोग्नु परेका गुनासो गरेका थिए ।
कारोबार मूल्यलाई मान्यता दिइनु पर्ने, सन्दर्भ पुस्तिकालाई खारेज गनु पर्ने, बिलबिजक र भन्सार मूल्यांकनको बीचमा १० प्रतिशतसम्म फरक देखिएमा प्रस्तुत बिल बिजकलाई मान्यता दिइनुपर्ने र शंका लागेमा भन्सार कार्यालयले घोषित मूल्यमा ५ प्रतिशत थपगरी खरिद गर्ने व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने सुझाव सहभागी उद्यमी व्यवसायीहरूले दिएका थिए ।
भारत सरकारले लागू गरेको जीएसटीलाई मध्यनजर गरी भारतबाट पैठारी हुने सामानमा जीएसटी बिललाई मान्यता दिइनुपर्ने, भारतको जीएसटीका दरहरूलाई बिचार गरी १८ प्रतिशत र सो भन्दा कम जीएसटी दरहरू लाग्ने सामानमा भन्सार महसुल घटाइनुपर्ने आवश्यकता सो अवसरमा औल्याइयो ।
बस्तु वर्गिकरणमा देखापरिरहेको विभिन्न समस्याहरूको सन्दर्भमा व्यापार व्यवसायको ठुलो अंश भारतसँग हुने गरेकोतर्फ बिचार गरि एचएस कोडहरूलाई समायोजन गर्ने तथा भारतको एचएस कोडलाई सन्दर्भको रूपमा प्रयोग गर्न सकिने व्यवस्था हुनुपर्ने जोड व्यवसायीहरूको थियो ।
एचएस कोडका सम्बन्धमा निजी क्षेत्रको प्रतिनिधित्व हुनेगरी पूर्णकालिन प्राविधिक समिति गठनगरी मूल्यांकन समिति जस्तै पुनरावलोकन गर्ने व्यवस्था हुनुपर्ने सुझाव प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले मुलुकभित्र व्यापार सहजीकरण र लगानीमैत्री वातावरण बन्नु पर्नेमा जोड दिंदै भारतीय प्रान्तिय सरकारहरूले व्यापार तथा लगानी सहजीकरणका लागि अपनाएका रणनीतिहरूका वारे आफ्नो धारणा राखेका थिए ।
भन्सार जाँचपास पछिको परिक्षण (पीसीए) लाई सहज बनाउन कम्तिमा काठमाडौं बाहेक ७ वटै प्रदेशमा पीसीएको व्यवस्था मिलाइनु पर्ने, निश्चित समय भित्र पीसीए गरिसक्नु पर्ने र निर्यातको सम्बन्धमा पीसीए लागु गर्न नहुने सुझाव उद्यमी व्यवसायीहरूको थियो ।
कार्यक्रममा भंसार विभागका महानिर्देशक रायाले निजी क्षेत्रबाट प्राप्त सुझाव महत्वपूर्ण रहेको भन्दै विभागका तर्फबाट पनि निकै धेरै सुधारहरू भैरहेको जानकारी गराए । महानिर्देशक रायाले भंसार प्रणालीलाई सहज र अन्तरराष्ट्रिय मापदण्ड अनुरूप संचालन गर्न विभागबाट निरन्तर कार्य भैरहेको समेत जानकारी दिए ।