जनतालाई परिणामसँग सरोकार छ, प्रक्रियासँग होइन : मुख्यमन्त्री शाही |
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विषयगत मन्त्रालयका सचिवलाई बजेट कार्यान्वयन तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका छन् । उनले हिजो बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्णालीमा बजेट कार्यान्वयन पक्ष अत्यन्त कमजोर रहेको बताउँदै त्यस्तो निर्देशन दिएका हुन् ।
उनले भने, ‘प्रदेश सरकारको सोचबमोजिम जनताले अनुभूति गर्नेगरी परिणाममुखी काम गर्नुस्, जनतालाई परिणामसँग सरोकार छ, प्रक्रियासँग होइन ।’
मुख्यमन्त्री शाहीले प्रदेशका छवटै विषयगत मन्त्रालयका सचिवबाट बजेट कार्यान्वयनको प्रगति, कार्यान्वयनमा देखापरेका चुनौती र आगामी योजनाको ब्रिफिङ सुनेपछि त्यस्तो निर्देशन दिएका हुन् । उनले समयसीमासहितको ठोस कार्ययोजना ३ दिनभित्र पेश गर्न पनि निर्देशन दिएका छन् ।
कार्यान्वयन गर्न नसकिने, संशोधन गर्नुपर्ने र नीतिगत समस्या सामाधान गर्नुपर्ने योजनाहरूको विवरणसमेत पेश गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिएका छन् । सो अवसरमा उनले प्रादेशिक संरचना नयाँ भएको र कुनै पनि संरचना नभएको अवस्थामा समेत प्रदेश सरकारको संस्थागत गर्न सचिवहरूले महत्वपूर्ण भूमिका खेलेको बताए ।
कर्मचारी समायोजनपछि सरकार अझै व्यवस्थित हुने अपेक्षा व्यक्त गर्दै मुख्यमन्त्री शाहीले समायोजनको चिट्ठी हातमा नपरुञ्जेलसम्म मन्त्रालयको काममा दत्तचित्तका साथ लाग्न सचिवहरूलाई आग्रह गरे । उनले भने, ‘कर्णालीवासीको भोको पेट र नाङ्गो छाती हेरेर आफ्नो कर्तव्य पूरा गर्नुस् ।’
विषयगत मन्त्रालयका सचिवहरूले बजेट कार्यान्वयनका लागि मातहतका निकायमा अख्तियारी पठाइएको, योजना छनोटका लागि सूचना प्रकाशन गरिएको, कतिपय योजनाको सम्झौता भई कार्यान्वयनमा गएको, कतिपय योजनाको सर्भे भइरहेको र कतिपय योजना छनोटको चरणमा रहेको विवरण पेश गरेका थिए ।
सो अवसरमा सचिवहरूले आफ्नो मन्त्रालयमा प्राविधिक जनशक्तिको अभाव, ऋण र आन्तरिक राजस्वमा रहेको बजेटको स्रोत सुनिश्चित नभएको जस्ता समस्या पेश गर्दै आफूहरू जतिसक्दो चाँडो बजेट कार्यान्वयमा लैजान प्रयासरत रहेको बताएका छन् ।