रिटगनको बजार विस्तारले सडक निर्माणमा गति आएको छ |
इ. शम्भु कर्ण
सञ्चालन प्रमुख (रिटगन ग्रुप डिलर नेपाल), एमभी दुगड ग्रुप
एमभी दुगड ग्रुपले आफ्नो क्षेत्रका ठूला तथा प्रविधिमा लिडर रहेका कम्पनीसँग सहकार्य गर्दै आइरहेको छ । नेपालमा १ सय ४६ वर्षभन्दा बढी समयदेखि व्यवसाय गर्दै आइरहेको यस ग्रुपको अहिले महिन्द्रा, जोन डियर, रोयल इनफिल्ड, पियाजियोलगायतका ठूला कम्पनीसँग सहकार्य छ भने केही समयअगाडिबाट जर्मन कम्पनी (रिटगन ग्रुप) अन्तर्गत विभिन्न ब्राण्डका कन्स्ट्रक्सन इक्विपमेण्टहरू विक्री गरिरहेको छ । कम्पनीले हाल ह्याम ब्राण्डका रोलर, भोग्ले ब्राण्डका पेभर मेशिन, रिटगन ब्राण्डका मिलिङ मेशिन, क्लिम्यान ब्राण्डका मोबाइल क्रसरलगायतका इक्विपमेण्टहरू बजारमा उपलब्ध गराएको छ । रिटगन ब्राण्डको सेट रोलर, मिलिङ मेशिन र पेभर मेशिन चलाएर एक दिनमा ८ किलोमिटरभन्दा बढी सडक पिच गर्न सकिन्छ । कम्पनीले यस्तो प्रविधि ल्याएपछि रोडमा अब क्रान्ति हुने प्रस्तुत छ, रिटगन ग्रुपअन्तर्गतका विभिन्न प्रोडक्टका साथै समग्र बजारको वर्तमान अवस्था, समस्या र सम्भावनाबारे ग्रुपअन्तर्गत रिटगन ग्रुप डिलर नेपालका सञ्चालन प्रमुख इञ्जिनीयर शम्भु कर्णसँग आर्थिक पाटीका मदन लामिछानेले गरेको कुराकानी :
तपाईंहरूले कुन ब्राण्डका कस्ता–कस्ता उपकरणको विक्रीवितरण गरिरहनुभएको छ ?
हामीले नेपाली बजारमा रिटगन ग्रुपअन्तर्गत विभिन्न ब्राण्डका कन्स्ट्रक्सन तथा रोड बनाउने इक्विपमेण्टहरू भित्र्याएका छौं । कम्पनीले हाल ह्याम ब्राण्डका रोलर, भोग्ले ब्राण्डका पेभर मेशिन, रिटगन ब्राण्डका मिलिङ मेशिन, क्लिम्यान ब्राण्डका मोबाइल क्रसरलगायतका इक्विपमेण्टहरू विक्री गरिरहेको छ । ह्याम रोलर सन् २०१२ देखि नै नेपाली बजारमा थियो । तर, अहिले हामीले यसको आधिकारिक विक्रेता भएर विक्री गरिरहेका छौं ।
रिटगन ब्राण्ड बजारमा आएका अन्य ब्राण्डभन्दा के के कुरामा फरक छ ?
समग्रमा हामीले रिडगन ग्रुपका जति पनि मेशिन भित्र्याएका छौं, व्यावसायिक हिसाबमा हेर्दा ती मेशिन कमाएर दिने खालका छन् । हाम्रो देशमा भौतिक पूर्वाधार निर्माण जुन गतिमा भइरहेको छ, त्यसलाई बढाउनका लागि यस्ता अत्याधुनिक मेशिनहरूको एकदमै आवश्यकता छ । रिटगन ब्राण्डको सेट रोलर, मिलिङ मेशिन र पेभर मेशिन चलाउनुभयो भने रोड काटेर नयाँ पिच गर्दा एक दिनमा ८ किलोमिटरभन्दा बढी पिच गर्न सकिन्छ । हामीले यस्तो प्रविधि रिटगन ग्रुप जर्मनी कम्पनी हो । रिटगन ग्रुपअन्तर्गत विभिन्न ब्राण्डमा इक्विपमेण्टहरू बन्छन् । हामीले भारतबाट रिटगनका प्रोडक्टहरू नेपालमा भित्र्याइरहेका छौं । निर्माण उपकरण बनाउने विश्वकै राम्रा कम्पनीहरूमध्येमा यो कम्पनी पनि पर्छ ।
ह्याम ब्राण्डका रोलरको प्रयोग गर्दा ग्राहकलाई के फाइदा हुन्छ ?
ह्याम ब्राण्डको रोलर भारत, नेपाललगायत अन्य देशहरूमा पनि प्रचलित ब्राण्ड हो । यो मेशिनको मर्मत खर्च कम लाग्ने, सञ्चालन मुनाफा धेरै हुने, तेल कम खाने, १०० एचपीको इञ्जिन, ३.३ आर्टिकुलेशन सिस्टमले एक्स, वाई र जेड प्वाइन्टमा ड्रमको एक्सिसलाई मिलाउँछ । यसले गर्दा कम्प्याक्सनको रेसियो राम्रो आउँछ । यसमा क्यूमिनको इञ्जिन, पानीको ट्याङकीमा लेउ नलागोस् भनेर केमिकल कम्पाण्डिङ गरिएको हुन्छ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको १०० एचपीको इञ्जिन भएर पनि यसले तेल कम खान्छ । यसमा स्पेयर पार्ट्सहरू कम लाग्छ । समग्रमा यसलाई एउटा इञ्जिनीयर प्रोडक्ट भन्दा पनि हुन्छ । प्राविधिक व्यक्तिले पनि यो मेशिनका बारेमा विश्वास गरेको हामीले बजारबाट प्रतिक्रिया पाएका छौं ।
ह्याम रोलर गुणस्तरीय सोयल कम्पाक्टर हो । यसले सही हिसाबले थिच्ने भएकाले काम छिटो हुन्छ । जसले गर्दा लागत कम पर्न जान्छ । यसमा पानी स्प्रिङ्कल गर्ने दुईवटा पाइप छन् । एउटा पाइप केही गरी जाम भयो भने अर्को पाइपले काम गर्न सकिने भएकाले काम रोकिन्न । त्यस्तै, यसमा स्ट्याण्डबाई र वर्किङका लागि गरेर दुईवटा वाटर पम्प हुन्छ । यो अपरेटर फ्रेण्ड्ली मेशिन हो । यो मेशिन चलाउँदा भिजिबिलिटी राम्रो, बस्न सजिलो र धेरै फङ्क्सन भएकाले चलाउन अरूको दाँजोमा सजिलो छ ।
तपाईंहरूले बजारमा ल्याउनुभएको पेभर मेशिनका विशेषताहरू के के छन् ?
भोग्ले ब्राण्डका पेभर मेशिन हामीले बजारमा भित्र्याउनेबित्तिकै सडक विभागअन्तर्गतको टेण्डर पार्न सफल भई चारओटा मेशिन विभागलाई दिन लागेका छौं । यो मेशिनले विकासको बाटो खोल्नेछ । एकातिर सडक निर्माणको काममा यसले गति थप्नेछ भने अर्कोतर्फ यो मेशिनको प्रयोगबाट बनेको सडक टिकाउपन पनि हुन्छ । अहिले निर्माण गरिने सडकहरू ६ महिनामै उप्केको हामीले देखिरहेका छौं । सडक पिच गर्ने बेला निर्माण सामग्रीको बर्निङ राम्रोसँग नहुनु र निर्माण सामाग्रीहरू सही औसतमा मिश्रण नगरेर पिच गर्दा यस्तो हुन्छ । यसको पेभ गर्ने रेसियो सेन्सरमा लागेको हुन्छ । त्यसैले यो मेशिनले एकैनासको गति तथा मोटाइमा पिच गर्छ । यो मेशिनले तताएर ल्याएको बिटमिन, गिट्टीहरूलाई एउटै रेसियोमा थिच्छ र फैलाउँछ । साथै, यसले पिचको लेभल पनि मेन्टेन गर्छ ।
मिलिङ मेशिनले सडक निर्माणमा क्रान्ति ल्याउँछ भनिएको छ । यो मेशिनको प्रयोगले कसरी कम लागतमा धेरै सडक पिच गर्न सकिन्छ ?
हामीले धेरै नै आशाका साथ ल्याएको मेशिन हो मिलिङ मेशिन । नेपालमा रोडहरू मर्मत गर्दा बिग्रेको सडकमाथि पिच गर्ने गरिन्छ । यसरी नै सडकमाथि पिच गर्दै जाने हो भने केही समयभित्रै सडकहरू माथि माथि हँुदै जानेछन् भने घर तथा नालाहरू तल तल हुनेछन् । यही समस्या समाधानका लागि हामीले मिलिङ मेशिन ल्याएका हौं । पिच बलियो बनाउनका लागि मोटो नै बनाउनुपर्छ भन्ने छैन । निश्चित मोटाइमा रोड काटेर त्यही गिट्टी, बिटुमिन उठाएर त्यसमा निर्माण सामग्री, बिटुमिनहरू थप गरेर पुनː त्यसलाई राखेर पिच गर्न सकिन्छ । यस्तो गर्दा पहिले प्रयोग गरिएको गिट्टी र बिटुमिनको पुनː प्रयोग गर्न सकिन्छ । यसरी पिच गर्दा ३० देखि ४० प्रतिशतसम्म खर्च बचत हुन्छ । यो प्रोडक्टको अहिले हामीले विक्रीमा भन्दा पनि जनचेतनामा ध्यान दिएका छौं । हामीले मिलिङ मेशिनका बारेमा विभिन्न सचेतना कार्यक्रमहरू गर्दै छौं । म इञ्जिनीयर भएको हुनाले के देखिरहेको छु भने भेरै ठेक्कापट्टाहरूको काम ढिलो भएर पेनाल्टी लागिरहेको छ । यो मेशिनको प्रयोग गर्न सक्यौं भने पेनाल्टीको सट्टा अवार्ड आउँछ ।
क्लिम्यान ब्राण्डका मोबाइल क्रसरका विशेषताहरू के के हुन् ?
हामीले बजारमा ल्याएको क्लिम्यान ब्राण्डका मोबाइल क्रसर मेशिनको प्रयोग विभिन्न ठाउँहरूमा भइरहेको छ । यो मेशिनको कार्यदक्षता धेरै राम्रो छ । यो ठूलो निर्माण कार्य भइरहेको ठाउँमा लगेर प्रयोग गर्न सकिन्छ । अन्य ब्राण्डका मोबाइल क्रसरभन्दा यसको पर्फरमेन्स र आयु पनि लामो रहेको हामीले अध्ययन गर्दा पाएका छौं ।
पुरानो (होमोजिनियस) मेशिन र यसमा के फरक छ ?
अत्याधुनिक मेशिनहरूको कार्यक्षमता पुरानो (होमोजिनियस) मेशिनको भन्दा धेरै नै बढी हुन्छ । जस्तो पेभर मेशिनको कुरा गरौं, पहिले के थियो भने सडक पिच गर्दा ड्रमहरूमा अलकत्रा पकाउने, ट्रिपरले गिट्टी झार्ने, ग्रेडरले सम्याउने र त्यसको माथि अलकत्रा हालेर रोलरले सम्याउने गरिन्थ्यो । हामीले सडक पिच गर्दा यति धेरै मेशिनको प्रयोग गथ्र्यौं । अहिले ब्याचिङ प्लाण्ट आइसकेको छ, त्यसमा गिट्टी र अलकत्रा ल्याएर मिक्स गर्नुस् र त्यसलाई पकाउनुस् । त्यसपछि त्यसलाई पेभर मेशिनमा राखेर पिच गर्ने अनि त्यसमाथि रोलर चलायो भने पिच हुन्छ । जसले गर्दा काम एकदमै द्रुत गतिमा अगाडि बढ्छ । काम मात्रै होइन, यसले गुणस्तर वृद्घि पनि गरेको छ । मेशिनबाट बनाएका सडकहरूको आयु पनि धेरै हुन्छ ।
आफ्ना ग्राहकलाई विक्रीपछिको सेवा कसरी दिइरहनुभएको छ ?
एमभी दुगड ग्रुपले ग्राहकलाई सजिलो होस् भनेर आफ्नो शाखाको सङ्ख्या बढाइरहेको छ । अहिले ४० ओटा शाखाबाट हामीले नेपालभर ग्राहकलाई सेवा दिइरहेका छौ । प्रत्येक शाखाबाट ग्राहकले नयाँ इक्विपमेण्ट खरिद गर्नुका साथै स्पेयर्स पार्ट्स तथा विक्री पछिको सेवा लिन सक्छन् । देशभरका ग्राहकले नजिकको शाखाबाट सेवा लिन सक्छन् । कम्पनीले ब्राण्डअनुसार विभिन्न समयको वारेण्टी पनि दिँदै आइरहेका छ ।
यसको उत्पादन तथा बजार मूल्यका बारेमा बताइदिनुहोस् न ?
हामीले विक्री गर्ने प्रोडक्टको गुणस्तर राम्रो छ । बजारमा कम्पनीले उचित मूल्यमा निर्माण सामग्रीहरूको विक्री गरिरहेको छ । हामीले रिटगनका अत्याधुनिक प्रोडक्टका माध्यमबाट जनतालाई सेवा दिन आएका छौं । सन्तुष्ट ग्राहकहरूको संख्याले नै विक्री बढ्ने हो । ग्राहकलाई सन्तुष्ट पार्न हामीले उचित मूल्यमा गुणस्तरीय प्रोडक्ट विक्री गरिरहेका छौं । हाम्रा इक्विपमेण्ट खरिद गरेर ग्राहकहरूले राम्रो आयआर्जन पनि गरिरहेका छन् ।
नेपालमा यस्तो मेशिनको आवश्यकता कति छ ?
नेपाल अहिले विकास निर्माणको पहिलो स्टेजमा छ । विकास निर्माणका लागि म्यान, मेशिन र मेटेरियलको आवश्यकता हुन्छ । राम्रो मेशिन भएन भने कामले गति लिन सक्दैन । अहिले देशलाई अत्याधुनिक प्रविधिको मेशिनको एकदमै आवश्यकता छ । यो कुरालाई हामीले छिटोभन्दा छिटो बुझेर अगाडि बढ्नुपर्छ । हामीलाई विकास पनि गर्नु छ, साथै दुई पैसा जोगाउनु पनि छ । हामीले ल्याएको मिलिङ मेशिनले एक घण्टामा ८ किमिभन्दा धेरै पिच गर्नुका साथै ३० देखि ४० प्रतिशतसम्म खर्च पनि जोगाउँछ भनेका छौं । यस्ता मेशिनको प्रयोगबाट १० वर्षमा गर्न सक्ने विकास ५ वर्षभित्रै गर्न सक्छौं । साथै, मेशिनको प्रयोगले कामको गुणस्तर पनि बढ्छ । हामीले अहिले देखिरहेका छौं, यहाँ पिच गरिएको सडकलाई एक वर्षभित्रै पुनː मर्मत गर्नु परिरहेको छ । नेपाल सरकारले हरेक वर्ष सडक मर्मतका लागि बजेट नछुट्याएर एक पटक पिच गरेको सडक ५ वर्षसम्म चल्ने गरी बनाउनुपर्यो । यस्तो गर्दा बाँकी ४ वर्ष सडक मर्मत गर्ने बजेट नयाँ परियोजनामा लगाउन सकियोस् । नेपालको विकासका लागि हामीले अत्याधुनिक प्रविधिलाई रोज्नुपर्छ । जसले गर्दा छिटोभन्दा छिटो देश विकास गर्न सकियोस् ।
यस क्षेत्रको व्यवसायमा कस्ता चुनौतीहरूको सामना गर्नुभएको छ ?
यो व्यवसायमा पनि धेरै नै चुनौतीहरू छन् । नेपालमा धेरै विकास निर्माणका कामहरू सञ्चालन भइरहेका छन् । सबैभन्दा पहिले अत्याधुनिक मेशिनका बारेमा मानिसहरूमा जनचेतना हुनुपर्छ । हामीले जनचेतना बढाउनका लागि विभिन्न प्रयासहरू गरिरहेका छौं । यसको महत्वका बारेमा सरकारको नीति निर्माणमा बसेका व्यक्तिहरूले बुझेपछि हामीहरूलाई प्रोडक्ट विक्री गर्न पनि सजिलो हुन्छ । साथै, निजीक्षेत्रका व्यवसायीहरूले पनि अत्याधुनिक प्रविधिका मेशिनको प्रयोगमा पहल गर्नुपर्छ । हामीले नाफाका लागि मात्रै यो प्रोडक्ट विक्री गरेको होइन । देश विकास पनि होस् भन्ने हाम्रो चाहना भएरै हामीले यस्तो प्रविधि भित्र्याएका हौं ।
व्यवसायको प्रवद्र्धनमा सरकारले के गर्नुपर्छ ?
हामीले बेलाबेलामा सरकारी निकायका व्यक्तिहरूलाई हाम्रा मेशिनका बारेमा प्रिजेन्टेशन गरिरहेका छौं । सरकारको नीति निर्माणको पदमा बसेका कर्मचारीले जति धेरै यस्ता मेशिनका बारेमा बुझ्नुहुन्छ, हामीलाई त्यति सजिलो हुन्छ । सरकारका प्राविधिकहरूले यस्ता मेशिनको पर्फरमेन्सका बारेमा बुझ्नु पनि भएको हो । उहाँहरूलाई थाहा भएर मात्रै पनि पुग्दैन । सरकारी प्राविधिकहरूले यस्तो यस्तो पर्फरमेन्स भएको मेशिन किनेर काम गर्नुपर्छ भनेर निर्देशन पनि दिनुपर्छ । यसैअनुसारको नीति नियम बनाउन उहाँहरूले जोड दिनुपर्छ ।
कन्स्ट्रक्सन इक्विपमेण्टका साधन खरिद गर्नुपूर्व के–कस्ता कुरामा ध्यान दिनु जरुरी छ ?
सरकारी निकाय, ठेकेदारलगायत जसले यस्तो मेशिन प्रयोग गर्नुहुन्छ । सबभन्दा पहिले यस्तो मेशिनले दिने फाइदाका बारेमा बुझ्न जरुरी छ । कुनै पनि मेशिन आफैंमा खराब त हुँदैन । तर, मेशिनअनुसार त्यसले दिने पर्फरमेन्स त फरकफरक हुन्छ । एक पटक किनेको मेशिनले कहिलेसम्म र कसरी फाइदा दिन्छ भनेर खरिद गर्नेले बुझ्नुपर्छ । सबैभन्दा पहिले त्यो मेशिनले गुणस्तरीय काम दिन सक्ने हुनुपर्छ । एउटै कामलाई पटकपटक गर्नुपर्यो भने लागत तथा समय दुवै बढ्छ । एकै पटकमा गुणस्तरीय काम भयो भने त्यसले राम्रो फाइदा दिन्छ । अर्को कुरा, त्यसले कति छिटो काम गर्न सक्छ भन्ने बुझ्नुपर्छ । पर्फरमेन्स राम्रो भएको मेशिनले काम गर्दा एउटा काम गर्ने समयमा चारवटा काम गर्न सकिन्छ । तेस्रो कुरा, निर्माण लागत घटाउने खालको मेशिन हुनुपर्छ । यसका लागि मेशिनले तेल कम खानुपर्यो । साथै स्पेयर्स पार्ट्स तथा मेन्टिनेन्सको काम कम हुनुपर्छ । मेशिनको आयु राम्रो हुुनुपर्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको अपरेटर चलाउन सजिलो हुने मेशिन हुनुपर्छ । मेशिन धेरै नै कम्प्लेक्स छ भने उसलाई काम गर्न गाह्रो हुन्छ । यी सबै कुरालाई ध्यान दियौं भने मेशिन किन्ने कन्ट्र्याक्टरलाई पक्कै फाइदा हुन्छ । हामीले विक्री गरिरहेका मेशिनमा माथिका सबै कुरा छन् । हामीले अपरेटर, कन्ट्र्याक्टर तथा सरकारी निकायसँग मेशिनका बारेमा बुझिरहेका छौ । सबैले एकदमै सकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ ।
तपाईंहरूका आगामी योजना के–के छन् ?
हामी नेपालको निर्माण क्षेत्रलाई कसरी अत्याधुनिक प्रविधिले सुसज्जित गरेर अन्तरराष्ट्रियस्तरको गुणस्तर दिन सकिन्छ भन्ने सोचका साथ रिटगनका सामग्रीहरू भित्र्याइरहेका छौं । अटोमोबाइल क्षेत्रमा हामी धेरै पहिलेदेखि नै लागेको भएर यो प्रोडक्ट पनि लिएर आएका हौं । आगामी दिनमा सरकार तथा सम्वद्घ सबै पक्षबाट सहयोग भइरह्यो भने हामी अझै उच्च प्रविधिका मेशिनहरू नेपाली बजारमा भित्र्याउनेछौं, ताकि यसबाट इञ्जिनीयर्स, कन्ट्र्याक्टर तथा सरकारलाई काम गर्न सजिलो होस् । साथै, हाम्रो देश अन्तरराष्ट्रिय मापदण्डअनुसारको विकास निर्माणका काम गर्न सफल होस् ।