सुदूरपश्चिमको धनगढीबाट पनि शुक्रवारदेखि श्रम स्वीकृति दिइँदै |
काठमाडौं । सरकारले पर्सि शुक्रवारदेखि सुदूरपश्चिमको धनगढीबाट पनि श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ । उक्त व्यवस्थासँगै अब सुदूरपश्चिमका युवायुवतीहरूलाई श्रम स्वीकृतिका लागि काठमाडौं नै धाउनैपर्ने बाध्यता हट्ने भएको छ । त्यसका लागि सुदूरपश्चिम प्रदेशको धनगढीमा श्रम स्वीकृति दिन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको हो ।
सातै प्रदेशबाट श्रम स्वीकृति दिने तयारी गरेको मन्त्रालयले यसअघि प्रदेश २ को राजधानी जनकपुर, प्रदेश ५ को राजधानी बुटवल, गण्डकी प्रदेशको राजधानी पोखरा र कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट श्रम स्वीकृति दिन थालिसकेको छ ।
वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरूलाई विकेन्द्रिकृत गरी सरल र सहज बनाउन धनगढीबाट पनि सेवा दिन लागिएको मन्त्रालयले बताएको छ । त्यसका लागि मन्त्रालयले धनगढीको प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरिएको छ ।
हाललाई कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।
अब प्रदेश १ को राजधानी विराटनगरबाट पनि श्रम इजाजत सेवा सञ्चालनको व्यवस्था मिलाउने तयारी गरिएको मन्त्रालयले बताएको छ ।
यसअघि सरकारले काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएका थियो । ताहाचलमा श्रम इजाजत लिन अत्यधिक भीड लाग्दा ठूलो सास्ती हुने गरेको थियो ।