महानगरीय प्रहरी परिसरलाई भवन खाली गर्न आयल निगमको चिट्ठी | उचित विकल्पसहित जग्गा र भवन उपलब्ध नगराएसम्म छोडिन्न : परिसर
काठमाडौं । नेपाल आयल निगमले गतवर्ष किनेको टेकुस्थित तत्कालीन नेशनल ट्रेडिङको जग्गा तथा भवन खाली गरिदिन प्रहरीलाई पत्राचार गरेको छ । निगमले खाली गर्न पत्राचार गरे पनि महानगरीय प्रहरी परिसरले भने सरकारले उचित वैकल्पिक स्थान र भवन नदिएसम्म परिसरलाई स्थानान्तरण गर्न नसकिने बताएको छ ।
भूकम्पपछि महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको कार्यालय सोही भवनमा बस्दै आएको छ । अब आयल निगमले आफ्नो केन्द्रीय कार्यालय रहेको बबरमहलको भवन जीर्ण भएकाले अहिले प्रहरी पसिर बसिरहेकै भवन उपयोग गर्ने तयारी गरेको छ ।
निगमको कार्यालय सार्नका लागि नै भवन खाली गराइदिन पत्राचार गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार नेशनल ट्रेडिङसँग किनिएको सो जग्गामा नयाँ भवन निर्माण गर्न टेण्डर गर्न लागिएको छ ।
सरकारले पनि निगमको बबरमहलमा रहेको केन्द्रीय कार्यालय भवन साँघुरो र जीर्ण भएकाले टेकूमा सार्न सरकारले अनुमति दिइसकेको छ । प्रवक्ता गोइतले भने, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुमति दिइसकेकाले सबै भवन खाली गरिरिदन प्रहरीलाई आग्रह गरिएको हो ।’
नेशनल ट्रेडिङका कर्मचारीलाई अवकाश दिने समयमा यो जग्गा निगमले किनको थियो । टेकुमा किनेको ४९ रोपनी जग्गामा नै अब निगमको केन्द्रीय कार्यालय राख्ने योजना छ ।
महनगरीय प्रहरी परिसरका प्रवक्ता होमेन्द्र बोगटी भने राजधानीको शान्ति सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरीले एउटा पत्रका भरमा आफ्नो कार्यालय भवन सार्न नसक्ने बताए । उनले भने, ‘सरकारले उचित विकल्पसहित प्रहरीका लागि जग्गा र भवन उपलब्ध नगराएसम्म टेकु छोडिन्न । ’ उनले थपे, ‘हामी पनि सरकारकै अंग हौं । यो विषय सुरक्षाजस्तो संवेदनशील विषयसँग जोडिएको छ, यो घरबेटीले कोठामा बस्नेलाई आदेश दिएजस्तो विषय हैन ।’
महानगरीय प्रहरी परिसर हनुमानढोकास्थित भवन महाभूकम्पले क्षतिग्रस्त भएपछि टेकु सारिएको थियो ।