वर्ल्ड इकोनोमी फोरममा प्रमको सम्बोधन | नेपाल लगानीका लागि उपयुक्त गन्तव्य बन्दै छ, ढुक्क भएर लगानी गर्नुस्
काठमाडौं । स्वीट्जरल्याण्डको डाभोसमा पुगेका प्रधानमन्त्री केपी ओलीले नेपालमा भारत र चीन दुवै देशबाट रेल र पानीजहाज आउने घोषणा गर्दै नेपाल लगानीको उपयुक्त गन्तव्य बन्ने दाबी गरेका छन् । उनले नेपाल, भारत र चीन रेल तथा पानीजहाजबाट जोडिने भएकाले लगानीका लागि नेपाल उर्वर भूमि बन्ने दाबी गरेका हुन् ।
उनले विदेशी लगानीका लागि उचित वातावरण निर्माण गर्न ऐन कानुनहरूमा आवश्यक संशोधन प्रक्रियासमेत अघि बढाइएको बताएका छन् । डाभोसमा हिजो मंगलवारदेखि जारी विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमी फोरम) को ४९औं वार्षिक बैठकमा ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा उनले त्यस्तो बताएका हुन् ।
प्रम ओलीले नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको बताए । भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँदै उनले राजनीतिक स्थायित्व एवम् नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गरे ।
प्रम ओलीले नेपालले सामाजिक र आर्थिक रूपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी दिँदै अन्तरराष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणको मार्गमा अग्रसर भएको बताए । प्रम ओलीले नेपालले नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अंगीकार गरेको तथा नयाँ बनेको संविधानअनुसार नयाँ कानून बनाइरहेको बताए । उनले भने, ‘नेपालले अब विकासका लागि धेरै प्रतीक्षा गर्न सक्ने अवस्था छैन ।’
सरकार ‘समृद्ध नेपाल तथा सुखी नेपाली’को लक्ष्य साकार पार्न आर्थिक विकास तथा सुशासनमा केन्द्रित रहेको प्रम ओलीले बताए । नेपालले नयाँ नीतिका साथ आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार गरिरहेको उनको भनाइ थियो ।
प्रम ओलीले महिला सशक्तीकरण, न्याय तथा समानता, सामाजिक न्यायको प्रवद्र्धनसँगसँगै समाजका सबै क्षेत्रमा सुधार गरिरहेको बताउँदै मानव सूचकांकका दृष्टिले पछिपरेका समाजको उन्नयनलाई महत्वका साथ अघि बढाएको बताए । उनले भने, ‘हामी नयाँ परिस्थितिमा प्रवेश गरेका छौं, जसले हामीलाई आशावादी बनाएको छ, हामीले क्षेत्रीय तथा अन्तरराष्ट्रिय मामिलामा आफ्नो भूमिका बढाउन सकेसम्म प्रयास गरिहेका छौं ।’
प्रम ओलीले दक्षिण एशिया महान् सभ्यता र विद्वत्वर्ग रहेको क्षेत्र रहेको बताउँदै सगरमाथादेखि हिन्द महासागरसम्म बहुभौगोलिक एवम् जैविक विविधता रहेको धारणा व्यक्त गरे । उनले अति उर्वर भूमि र उत्पादनशील जनसंख्या भएको नेपालले आफ्ना नागरिकको जीवनस्तर उकास्न आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको बताए ।
प्रम ओलीले क्षेत्रीय सहयोग अभिवृद्धिका निम्ति असमझदारी हटाउँदै क्षेत्रीय सहयोग र व्यापार विस्तारमा नेपालले सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । उनले नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको तथा त्यसका लागि लगानीमैत्री ऐन कानून जारी भएको बताउँदै अन्तरराष्ट्रिय लगानीका निम्ति आह्वान गरे ।
प्रम ओलीले नेपालले दक्षिण तथा दक्षिण पूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान)सँग व्यापार तथा अन्य सम्बन्ध कायम गरेर क्षेत्रीय व्यापार प्रवद्र्धनलाई उच्च महत्वका साथ कार्यान्वयन गरिरहेको बताए । साथै उनले हालै नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेको पनि स्पष्ट पारे । उनले क्षेत्रीय साझेदारी र समझदारी विकासमा पनि नेपालले उत्तिकै महत्व दिएको उल्लेख गरे ।
देशको आर्थिक विकासमा सार्वजनिक–निजी साझेदारी महत्वपूर्ण हुने वास्तविकतालाई दृष्टिगत गरी सरकारले दुवै क्षेत्रलाई उच्च महत्व दिएको प्रम ओलीले बताए । उनले भने, ‘युवालाई रोजगारी सृजनाका लागि व्यावसायिक प्रशिक्षण र बालबालिकालाई औपचारिक शिक्षामा सहभागी गराइएको छ ।’
रोजगारीको खोजीमा धेरै बेरोजगार युवा विदेशिएकाले उनीहरूले विदेशमा सिकेको सीपको नेपालमा उपयोग गर्न चाहेको जानकारी पनि दिए । कार्यक्रममा भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रघुराम जी राजन, नर्वेको सिग्भी ब्रेक्के, अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले भाग लिएका थिए ।