साढे २ करोड ठगेर भाग्ने बाग्लुङकी सरिता दरबारमार्गबाट पक्राउ | एकै व्यक्तिबाट २ करोड १ लाख ८५ हजार रुपैयाँ ठगी
पोखरा । साढे २ करोड रुपैयाँभन्दा बढी ठगेर फरार भएकी एक महिलालाई काठमाडौंको दबरबारमार्गबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बागलुङ बडिगार्ड गाउँपालिका–८ घर भई पोखरा महानगरपालिका–२६, अर्घौमा बस्ने ४२ वर्षीया सरिताकुमारी रानालाई पक्राउ गरेको हो ।
सरिताले विभिन्न प्रलोभन देखाउँदै सर्वसाधारणलाई ठगी गरेर फरार भएको भन्ने उजुरी आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले जानकारी दिए । ठगी गरेको भनेर पोखरा–२६, अर्घौका दिलमाया पुन, जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुन थापा, चन्द्रबहादुर सुनारलगायतले सरिताविरुद्ध उजुरी दिएका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
एसपी रानाका अनुसार सरिताले घरजग्गा खरिद गर्न, जग्गासँग घर र घरसँग जग्गा साटिदिने प्रलोभन देखाएर ठगी गरेकी हुन् । सरितासँग घर र जग्गा नभए पनि प्राइभेट कार रहेको र फ्ल्याट भाडामा लिएर बस्ने गरेको तथा उनीसँग काम गर्ने मान्छेसमेत रहेको प्रहरीले बताएको छ ।
सरिताले पोखरा–२६, अर्घौकी दिलमाया पुनसँग सबैभन्दा बढी २ करोड १ लाख ८५ हजार रुपैयाँ लिएको र उनीसँग उक्त रकम पटकपटक गरेर लिएको बताइन् । सरिताले आफू जडीबुटी कम्पनीको मालिक, हाइड्रो पावरको मालिक, कवाडी सञ्चालकलगायत परिचय दिँदै शुरूमा ५० हजार, एक लाख, दुई लाख गर्दै १० लाखसम्म लगेर फर्काएर विश्वास दिलाएर थप १ करोड लिएको पुनको दाबी छ । एक करोड लगेपछि भने घर दिन्छु, जग्गा दिन्छु भन्दै लोभ्याएर थप रकम लिएको उनको भनाइ छ ।
उनले भनिन्, ‘एक करोड लगेको केही समयपछि फेरि ४० लाख लगिन्, त्यसपछि न ब्याज न सावाँ फिर्ता भयो ? पछि म समस्यामा परेँ, अब ३१ लाख देऊ, त्यो अर्कैलाई बुझाएपछि मेरो फसेको पैसा फिर्ता आउँछ, त्यसपछि तिमीलाई सबै रकम फिर्ता दिन्छु भनेर ३० लाख ८५ हजार लगिन् ।’
ठगिनेमध्येका अर्का अर्घौकै जीतबहादुर पुनले आफूसँग १० लाख ठगी गरेको बताए । उनका अनुसार सरिताले कहिले हार्डवेयर पसल छ भन्दै त कहिले कम्पनीको मालिक हुँ भन्दै घर बनाउनका लागि भनेर पैसा लगेको उनको दाबी छ । उनका अनुसार पैसा लगेपछि एनआईसी एसिया बैंकको चेक दिने र चेक साट्न जाँदा तीन पटकसम्म बाउन्स भएपछि प्रहरी गुहार्नुपरेको हो ।
पक्राउ परेकी सरितालाई प्रहरीले मंगलवार दिउँसो सार्वजनिक गरेको हो । उनले आफूले रकम लिएर फिर्ता नगरेको पनि स्वीकार गरेकी छिन् ।