उपभोक्ता ठगी गर्ने दुई पेट्रोल पम्पमा शिलबन्दी, सञ्चालक एउटै |
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौंमा सञ्चालित दुई पेट्रोलपम्पलाई शिलबन्दी गरेको छ । विभागले चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई शिलबन्दी गरेको हो ।
आयोगले ती दुई पेट्रोलपम्पले शिल तोडेर पेट्रोलियम पदार्थ विक्री गरेकाले शिलबन्दी गरेको जानकारी दिएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले शिल तोडेर नक्कली शिल जडान गरेर विक्री–वितरण गरेको पाइएपछि शिलबन्दी गरिएको बताए । उनले भने, ‘ती पेट्रोल पम्पले विभागले लगाएको शिल तोडेर उपभोक्तालाई कम तेल दिएर ठगी गरेको पाइएको छ ।’
विभागका अनुसार दुवै पेट्रोल पम्पका सञ्चालक एकै व्यक्ति रहेको थाहा भएको छ ।
उनले विभागले स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ तथा नियमावली २०२७ अनुसार दुवै पम्पमा शिलबन्दी तथा कारोबार रोक्का गरी थप कानूनी प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।