विश्वकै सबैभन्दा महंगो डिभोर्स ː बेजोसले आफ्नी श्रीमतीलाई बुझाउनेछन् ७८ खर्ब | डिभोर्सपछि संसारकै धनी बेजोस बिल गेट्सको बराबरीमा आउँदै

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद हुने भएको छ । बेजोसले आफ्नो आधिकारिक ट्वीट ह्याण्डलमार्फत २५ वर्षको आफ्नो सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन् ।
उनको सम्बन्ध विच्छेदपछि विश्वभर नै यो चासोको विषय पनि बनेको छ । खासगरी धनी व्यक्तिले गर्ने सम्बन्ध विच्छेद र त्यसपछिको जिम्मेवारीका विषयमा धेरैले कौतुहलता प्रकट पनि गरेका छन् ।
विश्वकै सबैभन्दा ठूलो इ–कमर्श कम्पनी अमेजन र ठूलोमध्येको एक दी वासिङ्टन पोस्टका मालिक बेजोसको सम्पत्ति १ सय ३७ अर्ब डलर रहेको अनुमान गरिएको छ । सम्बन्ध विच्छेदपछि भने उनले यसमध्ये ठूलो धनराशि गुमाउनेछन् । उनले आफ्नी श्रीमती म्याकेन्जी बेजोसलाई करिब ७० अर्ब डलर अर्थात् अहिलेको विनिमयदर अनुसार ७८ खर्ब रुपैयाँ बुझाउनेछन् ।
यो सम्बन्ध विच्छेदपछि तीनओटा नयाँ इतिहास कायम हुनेछन् । पहिलो त यो विश्वकै सबैभन्दा महंगो सम्बन्ध विच्छेद सावित हुनेछ । दोस्रो, सम्बन्ध विच्छेदबापत बेजोसकी श्रीमतीले प्राप्त गर्ने सम्पत्तिले उनलाई विश्वकै धनी महिला बनाउनेछ । तेस्रो, जेफ बेजोस अब विश्वकै धनी व्यक्तिको सूचीमा निकै तल पर्नेछन् ।
बेजोससँगको सम्बन्धबाट म्याकेन्जीले तीन छोरा र एक छोरी जन्माइसकेकी छिन् । अब डिभोर्सपछि उनी दुनियाँकै सबैभन्दा धनी महिला बन्नेछिन् । उनीहरू बस्दै आएको वाशिङ्टन राज्यको एउटा अदालतको फैसलापछि बेजोसको कुल सम्पत्ति दुई हिस्सामा बाँडिने छ र एक हिस्सा म्याकेन्जीले प्राप्त गर्नेछिन् ।
उनीहरूले एउटा कार्यक्रममा संयुक्त अभिव्यक्ति दिँदै भनेका छन्, ‘हामीहरू २५ वर्षको सम्बन्धलाई अन्त्य गर्ने घोषणा गर्दै आगामी दिनहरूमा आत्मीय साथीको रूपमा रहने निर्णय गरेका छौं ।’
यो डिभोर्सपछि उनीहरूले स्थापना गरेको कम्पनीमा केही परिवर्तन ल्याउने अनुमान गरिएको छ । यसले गर्दा विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीबाट जेफ पछि पर्नेछन् । यो डिभोर्सपछि जेफ माइक्रोसफ्टका को–फाउण्डर बिल गेट्सको बराबरीमा आइपुग्नेछन् । बिल गेट्ससँग अहिले ९५ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको छ ।
बेजोस दम्पतीले आफूहरू अलग्गिनुको कारण भने खुलासा गरेका छैनन् ।