तान्जानियाको पानीजहाजमा आगलागी हुँदा ११ जनाको मृत्यु | हाम फाल्दा अधिकांश डुबेको र केही उत्रिने संघर्ष गर्दै गरेको देखेको प्रत्यक्षदर्शीको भनाइ

काठमाडौं । तान्जानियाको क्रिमियानजिक ‘ब्ल्याक सी’मा मालबाहक पानीजहाजमा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । आगो लागेपछि जहाजमा सवार मानिसहरू समुद्रमा हाम फालेका थिए । रूसी उद्धारकर्ताहरूको टोलीले १४ जनालाई उद्धार गरिसकेको छ भने उद्धार कार्य जारी रहेको छ । उनीहरू आगो लागेको पानीजहाजसम्म पुग्ने कोसिसमा रहेका छन् ।
ग्यास ट्यांकर रहेको एउटा पानीजहाजमा आगो लागेपछि विष्फोटन भएको र त्यसपछि अर्को पानी जहाजमा पनि आगो लागेको हो । एउटा जहाजबाट अर्को जहाजमा इन्धन खन्याइरहेको बेला आगो लागेको बीबीसी समाचारमा उल्लेख छ ।
जहाजमा आगो लाग्न थालेपछि त्यसमा सवार व्यक्तिहरू समुद्रमा हामफाल्ने क्रममा अधिकांश डुबेको र केही भने पानीमा उत्रिन संघर्ष गरिरहेको देखेको प्रत्यक्षदर्शीले बताएका छन् । एएफपी समाचार एजेन्सीका अनुसार दुई जना क्याप्टेनमध्ये एक जनाको अवस्था अज्ञात रहेको छ । जहाजमा क्रु मेम्बरसहित टर्की र भारतका १७ जना थिए । त्यसमध्ये केही कलाकार पनि रहेको समाचारमा उल्लेख छ ।