ग्लोबल आईएमईका सीईओ शर्माको राजीनामा, स्वीकृत हुन बाँकी |
काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जिम्मेवारी सम्हालेको डेढ वर्ष पनि नपुग्दै राजीनामा दिएका छन् । अघिल्लो वर्ष मात्रै सीईओ पदमा नियुक्त भएका पौड्यालले हिजो आइतवार सञ्चालक समितिसमक्ष पदबाट राजीनामा बुझाएको बैंक स्रोतले जानकारी दिएको हो ।
अघिल्लो वर्ष मात्रै उक्त पदमा नियुक्त भएका पौड्यालको सो बैंकमा अझै करिब ३ वर्ष कार्यकाल बाँकी छ । उनले राजीनामा किन दिए भन्ने विषयमा बैंकले केही खुलाएको छैन । राजीनामा दिए पनि स्वीकृत नभएको तथा आज सोमवार पनि उनी कार्यालयमा हाजिर भएका छन् ।
बैंकका एक अभिकारीले भने, ‘उहाँले आइतवार नै राजीनामा दिनुभए पनि स्वीकृत अहिलेसम्म नभएको भन्ने कुरा आएको छ । आज पनि कार्यालय आउनुभएको छ ।’
३ दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताइसकेका पौड्याल यस क्षेत्रमा प्रवेश गर्नुअघि व्यक्ति अध्यापन गर्थे । बेलायतको पीआर त्यागेर नेपाल फर्किएका उनले ग्लोबल आईएमई बैंकमा सहायक जनरल म्यानेजर (एजीएम) को पदबाट काम शुरू गरेका हुन् ।
ग्लोबल आईएमई बैंकमा एजीएमबाट बढुवा भएर उनी नायव महाप्रबन्धक, महाप्रबन्धक, नायव प्रमुख कार्यकारी अधिकृत (डीसीओ), वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) हुँदै हाल प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।