आजदेखि स्वस्थानी व्रत शुरु |
काठमाडौं । आजदेखि स्वस्थानी व्रत शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक स्वस्थानी व्रत बस्ने परम्परा छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।
बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस भनी भगवतीलाई अर्घ दिइन्छ ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम मीत छोरा पनि नभएमा कामना सिद्ध होस भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
सय रोटी व्रतालु आफैले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालि नदीमा माघ स्नानसहित माधवनारायणको मेला लागेको छ ।