अरुण तेस्रोको काम तिव्र गतिमा | पन्ध्र प्रतिशत काम सम्पन्न
काठमाडौं । राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको तुम्लिङटारस्थित कार्यालयले दिएको जानकारी अनुसार अहिले मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङ्मार्ग र बाँध निर्माणको काम भइरहेको छ ।
उक्त आयोजनामा नेपाली र भारतीय गरी दुई हजार ६५ कामदारले काम गर्दै आएका छन् । आयोजना निर्माणको जिम्मा पाएको भारतको सतलज कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माका अनुसार अहिलेसम्म तीन सय ५२ मिटर सुरुङ्मार्ग खन्ने काम सकिएको छ ।
त्यस्तै आयोजना निर्माण स्थलसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको शर्माले बताए । आयोजना स्थलमा बिजुली नहुँदा निर्माणमा ढिलाइ भएको उनको भनाई छ । नौ सय मेगावाट क्षमताको उक्त परियोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब खर्च हुने अनुमान गरिएको छ ।