मेलम्चीको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढ्यो, सीएमसीलाई १४ दिने सूचना जारी हुने |
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसी दि रिभेन्नासँगको उक्त ठेक्का रद्द गर्ने तयारी थालेको छ । उक्त निर्माण कम्पनीले काममा फर्कने वा नफर्कने भन्ने कुनै जवाफ नपठाएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । उनले सरकारले अब उक्त निर्माण कम्पनीका लागि काममा फर्कन १४ दिने सूचना जारी गर्ने र उक्त अवधिमा पनि काममा नफर्किए ठेक्का रद्द हुने बताए ।
आयोजनाले गत शुक्रवार नै सीएसमीलाई ठेक्का तोड्ने प्रक्रिया शुरू गर्न लागिएको जानकारीसहितको पठाएको थियो । क्रिसमस र नयाँ वर्ष मनाएर काममा फर्किने भन्दै सीएमसीका प्रतिनिधीहरू इटाली गएकोमा अहिलेसम्म पनि आएका छैनन् । प्रचलित नियमअनुसार ठेकेदार कम्पनीले आफुखुसी साइट छोड्न मिल्दैन । ठेक्का तोड्ने प्रक्रिया शुरू गर्न यसअघि बसेको आयोजनाको बोर्ड बैठकले निर्णय गरिसकेको छ ।
कार्यकारी निर्देशक कँडेलले भने, ‘सीएमसी फर्कन्छ कि भनेर अहिलेसम्म पर्ख र हेरको अवस्थामा थियौं । अब कुरेर बस्ने अवस्था छैन । सम्पर्कमै नआएपछि ठेक्का तोड्ने प्रक्रिया शुरू गर्न लागेका छौं ।’
कँडेलका अनुसार ठेकेदार कम्पनीसँग सरकारले पटकरपटक वार्ताका लागि आग्रह गरे पनि सीएसमीले कुनै जवाफ दिएको छैन । यसअघि सीएमसीले खानेपानी मन्त्रालय र आयोजनालाई पठाएको मेलमा कम्पनीले काम सम्पन्न गर्नुअघि नै बाँकी लाग्ने रकम पाउनुपर्ने, जफत धरौटी फिर्ता गर्नुपर्ने र वार्ता सिंगापुर वा लण्डनमा गर्नुपर्ने शर्त राखेको थियो । सरकारले भने अरु देशमा वार्ता गर्न नसकिने भन्दै नेपालमै बोलाएपछि कुनै जवाफ फर्काएन ।