नेप्सेले १५ मिनेट रोक्यो कारोबार | अनलाइनमा लग इन समस्या, समस्या समाधानपश्चात् पुनः कारोबार शुरू
काठमाडौं । आज आइतवार शेयर कारोबारको अनलाइन प्रणालीमा समस्या आए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तत्कालै समस्या समाधान गरी पुनः कारोबार सुचारु गरेको छ । केही ब्रोकरले अनलाइन प्रणालीमा लगइन गर्दा समस्या भएको भन्दै नेप्सेमा जानकारी दिएपछि नेप्सेले १५ मिनेटका लागि कारोबार रोकेर समस्या समाधान गरेको हो ।
नेप्सेका प्रवक्ता मुरारि पराजुलीले अनलाइन प्रणालीमा समस्या आएको जानकारी पाउनेबित्तिकै समाधान गरिएको बताए । नेप्सेले अनलाइन प्रणालीमा शुरूदेखि नै समस्या देखिएपछि प्रत्येक बिहीवार स्तरोन्नति गर्दै आएको छ ।
प्राप्त जानकारी अनुसार आज आइतवार ब्रोकरले कारोबारका लागि एडमिन खोल्दा नै समस्या आएको थियो । लगइन नै हुन नसकेको र भए पनि तत्कालै लग आउट हुने समस्या देखिएको थियो । सो अवधिमा २२ वटा कम्पनीको ७ करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।