आजदेखि कर्णाली प्रदेशबाट पनि श्रम स्वीकृति |
काठमाडौं । अबदेखि कर्णाली क्षेत्रका युवायुवतीहरूले श्रम स्वीकृतिका लागि काठमाडौं धाउनैपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । आज आइतवारदेखि वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाटै श्रम स्वीकृतिलगायत सेवा प्रदान गरिने भएको छ ।
कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ ।
श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवम् अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालका अनुसार सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवम् गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुनेछ ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने व्यवस्था मिलाएको हो । यसअघि मन्त्रालयले पहिलो चरणमा प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर, प्रदेश नं ५ को बुटवल र गण्डकी प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइसकेको छ ।
अब बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि त्यस्तो सेवा उपलब्ध गराउनका लागि आवश्यक व्यवस्था अन्तिम चरणमा पुर्याइएको संयोजक खनालले जानकारी दिए ।