नेशनल माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ७५ रुपैयाँभन्दा माथि |
काठमाडौं । नेशनल माइक्रोफाइनान्सले प्रतिशेयर आम्दानी बढाएर ७५ रुपैयाँभन्दा माथि पुर्याएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थाले ५ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा गर्दा उक्त प्रतिशेयर आम्दानी हासिल गरेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पूँजीवृद्धिका बाबजुद संस्थाले ६५ रुपैयाँ प्रतिशेयर आम्दानी गरेको थियो । अघिल्लो वर्ष उक्त कम्पनीले २० प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी १२ करोडबाट बढाएर १५ करोडभन्दा माथि पुर्याएको थियो ।
संस्थाले दोस्रो त्रैमासको अन्त्यमा कुल २ अर्ब ९१ करोड रुपैयाँ ४८ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ९७ करोड रुपैयाँ बचत संकलन गरेको छ भने २ अर्ब ७ करोड ४२ लाख रुपैयाँ ऋण लिएको छ । उक्त ऋण परिचालनबाट संस्थाले ६ महिनामा २३ करोड ६१ लाख ब्याज आम्दानी गरेको छ । रू. १२ करोड १८ लाख ब्याज खर्च गरेको संस्थाले कर्मचारी र अन्य प्रशासनिक खर्चमा भने १६ करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ ।
संस्थाको पूँजी पर्याप्तता अनुपात १०.८९ प्रतिशत, एनपीएल १.४८ प्रतिशत, कस्ट अफ फण्ड ८.४६ प्रतिशत रहेको छ ।