आईसीआईजेको नेपालिक्स रिर्पोट माथि अरुणकुमार चौधरीको आपत्ति | रिर्पोटले आमजनमानसमा द्विविधा सिर्जना नगरोस्
काठमाडौं । खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आईसीआईजे) को सहकार्यमा तयार पारेको रिपोर्टमा आफु र आफ्नो परिवारको नाम जोडिएको भन्दै अरुणकुमार चौधरीले खण्डन गरेका छन् । उनले भने, ʽम र मेरा परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।ʼ
ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी समाचारमा उल्लेख गरिएको थियो । यस्तै सूचनालाई आधार बनाई ३⁄४ वर्ष पहिला पनि यो विषय बाहिर आएको भन्दै चौधरीले त्यसबेला समेत प्रष्टीकरण दिएको बताए । सीआइजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्ष पहिला खुलेको र ६⁄७ वर्ष पहिला स्ट्राइक अफ भइसकेको उनले बताएका छन् ।
जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, त्यो कम्पनीको सेयरहोल्डर भनी मेरा छोराहरुको नाम जोडिएकोमा त्यस कम्पनी स्थापना हुँदा उनीहरुको उमेर १० र ५ वर्ष मात्र थियो । हाम्रा बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरुले छोराहरुलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भनेका थिए हामीले खोलेनौं ।
उनले ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने त्यस बेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले आफ्नो नाम दुरुपयोग गरेको भए त्यो छानविनको विषय बन्नु पर्ने पनि उल्लेख गरेका छन् ।
त्यसैगरी, ट्याक्स हेवन गर्नजीमा दर्ता रहेका दुई विदेशी कम्पनीमा समेत आफुलाई जोडेकोमा उनले खण्डन गर्दै भनेका छन्, ʽती दुई कम्पनी कम्पनीमा हाम्रो साझेदारी छैन । मेरो कुनै पनि स्वीस बैंकमा खाता छैन, कुनै पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैन र सीजी होल्डिंग्स समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन । यो विषयले आमजनमानसमा द्विविधा सिर्जना नगरोस् भन्ने उद्देश्यले यो विज्ञप्ति जारी गरेको हुँ । ʼ