दुई महिलामाथि खुकुरी प्रहारपछि घाँटी रेटेर आत्महत्या |
भद्रपुर (झापा) । झापाका एक अधवैंसे व्यक्तिले आज शनिवार बिहान आफ्नै छिमेकी दुई महिलालाई खुकुरीले हानी आफूले पनि आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार अर्जुनधारा नगरपालिका–१०, कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले सोही वडाका २४ वर्षीया जमुना ओझा र १९ वर्षीया बालकुमारी भारतीलाई खुकुरी प्रहार गरी घाइते बनाएर आफूले आत्महत्या गरेको जानकारी दिएका हुन् ।
खुकुरी प्रहार गर्ने पोखरेललाई आज बिहान छिमेकी महिलाको घरनजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती महिलालाई खुकुरी प्रहार गरी घाइते बनाएपछि पोखरेलले घाँटी रेटेर आत्महत्या गरेको खुलेको छ । घाइते दुबै महिलाको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
घाइते ओझाका पति वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।